भोटेकोसी बाढीको कारण के हो?

भोटेकोसी बाढीको कारण के हो?

काठमाडौं : चिनियाँ मिडियाहरूले सार्वजनिक गरेको भिडियो फुटेजका अनुसार बुधवार लेन्देखोला हुँदै भोटकोशीमा आएको बाढीको जोखिम अझै हटिसकेको छैन। चीनको टेलिभिजन सिसिटिभीफोरले प्रसारण गरेको भिडियो रिपोर्टमा लेन्देखोलाको मुहानको दाहिने भागको पहाडमा पहिरो आएको र त्यसले जम्मा गरेको कङ्क्रिट र माटोले पानी थुनेर ताल बन्दै गएको देखिन्छ।

नेपाली पक्षले अहिलेसम्म बाढीको कारण के हो भनेर प्रस्ट खुलाएको छैन। बिहीबार चीनीया पक्षबाट थुनिएको खोला पुन फुटेर बाढी आउनसक्ने भन्दै सचेत हुन सूचना भने जारी गरेको छ। बाढीका कारण ठूलो मात्रामा भएको मानवीय र भौतिक क्षतिका कारण सरकारी संयन्त्र दोस्रो दिन बिहीबार पनि खोज र उद्धारमा खटिएको छ। 

बाढीबारे चीनले नेपाललाई समयमा जानकारी नदिएको सार्वजनिक भएसँगै आलोचना बढेपछि नेपालस्थित चिनिया दूतावासले सामाजिक सञ्जालमार्फत भदौ १० गते बिहान नेपालतर्फको भूभागमा भूकम्प वा भूकम्पजस्तै ठूलो हिमपहिरो गएको र सोही हिमपहिरोका कारण विशाल लेदोसहितको बाढी आएको दाबी गरेको छ।

सो क्षेत्रमा यो पहिलो पटक बाढी गएको हैन। गत वर्ष पनि सोही खोलामा बाढी जाँदा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। एक वर्षकै बिचमा पून सोही स्थानमा दोस्रो पटक अझ ठूलो बाढी आयो।

बाढीको मुख्य स्रोत चीनको तिब्बततिर रहेको लेन्देखोला रहेको पुष्टि भइसकेको छ। यो मात्रामा विनाशकारी बाढी आउनुको कारण मुख्य स्रोतमा के भयो भन्नेमा भने एकमत देखिन्न।

प्रभावित क्षेत्रको सेटेलाइट म्याप। स्रोत-सिएनएन।अन्तर्राष्ट्रिय मिडियामा चिनिया विज्ञहरूले गत वर्षको बाढीपछि लेन्देखोलाको मुहानमा चीनले सम्भावित विपद्बारे पूर्व जानकारी दिने सिस्टम जडान गरेको तर बुधवारको घटना चीनतिर नभई नेपालतिर भएकाले जडान भएको सिस्टमले पूर्व जानकारी नदिएको दाबी गरिरहेका छन्।

सिएनएनसितको कुराकानीमा इसिमोडका प्रतिनिधि च्यान गोङ झाङले यो घटना दुवै देशको छविसँग जोडिएको बताउँदै गत वर्षको बाढीपछि चीनले प्रभावित क्षेत्रमा अनुगमन गर्न पूर्वानुमान प्रणाली जडान गरेको तर बुधवारको घटना नेपालतिरको क्षेत्रमा भएकाले चीनले जडान गरेको प्रणालीले काम नगरेको र नेपालले पूर्वानुमान सम्बन्धी कुनै प्रणाली जडान नगरेको दाबी गरे।

सिएनएनसँगकै कुराकानीमा क्यानडाको कालगेरी विश्वविद्यालयका भूगर्भविद् तथा वैज्ञानिक समूहका एक सदस्य डानियल शुगारले ग्लेशियर (हिमनदी) मात्रै खस्दा त्यति ठूलो मात्रामा ऊर्जा उत्पादन हुन पर्याप्त नहुने र त्यसमा अन्य कुनै कारण संलग्न हुनुपर्ने बताएका छन्।

"बरफ र चट्टानहरू तलतिर खस्दा उत्पन्न भएको तीव्र बलले बरफलाई पगालेको हुनसक्छ, शुगारले भनेका छन्। 

बाढी आउनु र विपद् हुनुका मुख्य कारण के हुन् त?

विभिन्न देशका वैज्ञानिकहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारका तथ्यहरूले बुधवार भोटेकोसीमा जुन तहको बाढी आयो त्यसको मुख्य कारण नेपाल र चीनको सीमामा रहेको लेन्दे खोलाको मुहानमा भएको कुनै परिवर्तन मुख्य कारण रहेको प्रस्ट हुन्छ। त्यसमा पहिलो कारणका रूपमा भूकम्प र हिमपहिरो जोडिएको देखिन्छ।

नेपाल र चीनको सीमा नजिकै बुधवार बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको दाबीहरू आइरहेका छन्। भूकम्प लाङटाङ हिमालको उत्तरतर्फ गएको ठूलो हिमपहिरोसँग जुध्न पुगेको अनुमान देखिन्छ। तर भूकम्पले पहिरो खसालेको हो वा हिमपहिरोको आकार निकै ठूलो भएकाले भूकम्पीय कम्पन ल्याएको हो भन्ने भने एकमत देखिन्न।

दोस्रोमा ग्लोबल वार्मिङका कारण हिमालको हिउँ र बरफ पहिल्यैदेखि असुरक्षित र अस्थिर बन्दा मनसुनको अन्त्यतिरको समय भएकोले भिरालो जमिनमा जम्मा भएको हिउँ तीव्र रूपमा पग्लिदा हिमनदीमा पानीको मात्रा अधिक बढ्दा त्यसले बेग समातेको अनुमान देखिन्छ।

तेस्रोमा लाङटाङ हिमालमा गएको पहिरोको अंशले लेन्दे खोलाको प्राकृतिक बाटो अवरोध गर्दा त्यहाँ तालको आकार लिएको र त्यो फुट्दा एक्कासि बाढीको आकार लिएको अनुमान देखिन्छ। कृत्रिम ताल फुट्दा हिलो र ठूला ढुङ्गाहरूको छालसहितको बाढी तल आएर केरुङ र त्रिशूलीमा मिसिँदा त्यसले भीषण बाढीको आकार लिएको अनुमान देखिन्छ।

बुधवार नेपालमा जे भयो त्यसलाई विश्वका वैज्ञानिकहरूले यस अगाडि सिन्धुपाल्चोकको  मेलम्ची क्षेत्रमा आएको बाढीसँगै सन् २९२३ मा सिक्किममा आएको बाढी र गत वर्ष भोटेकोसीमै आएको बाढीसँग जोडेर हिमाली क्षेत्रमा तीव्र रूपमा भइरहेको जलवायु परिवर्तनका कारण तीव्र रूपमा हिउँहरू पग्लने र हिमनदीको गति बढ्दा सुनामीको आकार लिएको विश्लेषण गरिरहेका छन्।

अझैँ टरेको छैन संकट

लेन्देखोलाको मुहानमा बनेको कृतिम ताल। आकारको बाढीले विध्वंस मच्चाइरहेको बेलामा बुधवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट साढे १ बजे लेन्दे खोलामा बनेको अप्राकृतिक बाँध पूर्ण रूपमा नखुलेको र सो भत्किएर पून बाढी आउनसक्ने जोखिमबारे चिनिया पक्षबाट जानकारी आएको भन्दै प्रभावित हुनसक्ने क्षेत्रका स्थानीयलाई थप सचेत रहन आग्रह गरिएको थियो।

बिहीबार चिनिया मिडियाहरूबाट विपद् प्रारम्भ भएको लेन्दे खोलाको मुहान क्षेत्रको तस्बिर र भिडियोहरू सार्वजनिक भए जसमा प्रस्ट रूपमा पहाडको एकातिर पहिरो गएको र त्यसले अस्थायी बाँधको आकार बनाएर पानी रोक्दा ताल बनेको प्रस्ट देखिन्छ।

चिनिया मिडिया ग्लोबल टाइम्सले प्रकाशित गरेको समाचारमा चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ‘नेपालका छोछेन खोला र पुरेपु त्सान्पो नदीको सङ्गम नजिकै एउटा ठूलो बाँध बनेको, जसको पानीको परिमाण बिहीबार बिहानसम्म २० लाख घन मिटर अनुमान गरिएको र उक्त ताल पहिले नै ओभरफ्लो भइसकेको’ उल्लेख छ। 

समाचारमा आगामी तीन दिनमा सो अस्थायी तालमा थप ३० लाख घन मिटर पानी जम्मा हुने अपेक्षा गरिएको र बाँध फुट्ने उच्च जोखिम रहेको उल्लेख छ।

भदौ ११, २०८३ बिहीबार १९:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।