रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ। जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। जसमा रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ।
बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्। बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ।
भदौ १३, २०८३ शनिबार १०:१७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।