पाँच जिल्लाका यी १५ स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा
काठमाडौं : नेपाल सरकारले रसुवाको भोटेकोशी-ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट अति प्रभावित ५ वटा जिल्लाका विभिन्न १५ स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले भदौ ११ गते नेपाल राजपत्रमा आधिकारिक सूचना प्रकाशित गर्दै विनाशकारी बाढीपछि प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
मन्त्रालयले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त घोषणा गरेको राजपत्रमा उल्लेख छ।
नेपाल-चीन सीमास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण ती जिल्लाका नदी तटीय क्षेत्रमा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेपछि सरकारले उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन यो कदम चालेको हो।
नेपाल सरकारका सचिव राजकुमार श्रेष्ठद्वारा जारी राजपत्रको सूचना अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहहरू यस प्रकार छन्:
१. रसुवा:
उत्तरगया गाउँपालिका
गोसाईंकुण्ड गाउँपालिका
कालिका गाउँपालिका
आमाछोदिङमो गाउँपालिका
२. नुवाकोट:
विदुर नगरपालिका
बेलकोटगढी नगरपालिका
किस्पाङ गाउँपालिका
तारकेश्वर गाउँपालिका
३. धादिङ:
गल्छी गाउँपालिका
सिद्धलेक गाउँपालिका
गजुरी गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
४. गोरखा:
गण्डकी गाउँपालिका
५. तनहुँ:
देवघाट गाउँपालिका
आँबुखैरेनी गाउँपालिका
राजपत्रमा प्रकाशित सूचना अनुसार यो निर्णय सूचना प्रकाशन भएको मितिले तीन महिनासम्म लागू हुनेछ। विपद् संकटग्रस्त क्षेत्र घोषणा भएसँगै यी क्षेत्रमा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय निकायहरूलाई राहत तथा पुनर्स्थापनाका काममा परिचालन गर्न सहज हुने अपेक्षा छ।
भदौ १३, २०८३ शनिबार ०९:२२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।