पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की : पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको  भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा-३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो।

स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए। स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्याएका थिए।

छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेका थिए। त्यसपछि तीव्र  आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएका थिए।

श्रीमान् कमलले  हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए। आमाछोरीलाई पोखरा-१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो।

भदौ १३, २०८३ शनिबार ०८:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।