नेपालमा गएको विनाशकारी बाढीपहिरोप्रति पाकिस्तानको दुःख व्यक्त, आपत्कालीन राहत सामग्री पठाउने घोषणा

नेपालमा गएको विनाशकारी बाढीपहिरोप्रति पाकिस्तानको दुःख व्यक्त, आपत्कालीन राहत सामग्री पठाउने घोषणा

काठमाडौं : नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानले आपत्कालीन राहत पठाउने घोषणा गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शहबाज शरिफले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै विपद्को यस घडीमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

टेलिफोन संवादका क्रममा पाकिस्तानी प्रधानमन्त्री शरिफले बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना प्रकट गरेका थिए।

पाकिस्तान सरकार र त्यहाँका नागरिकका तर्फबाट नेपालको नेतृत्व र नेपाली जनताप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै उनले यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार रहेको स्पष्ट पारेका छन्।

सोही वार्ताका क्रममा प्रधानमन्त्री शरिफले नेपालमा जारी राहत तथा उद्धार कार्यमा सघाउन पाकिस्तान सरकारले तत्कालै आपत्कालीन राहत सामग्रीहरू नेपालतर्फ पठाइरहेको जानकारी समेत आफ्ना समकक्षीलाई गराएका थिए।

प्राकृतिक विपद्को यस अकल्पनीय समयमा टेलिफोनमार्फत ऐक्यबद्धता र सहानुभूति प्रकट गरेकोमा तथा उदारतापूर्वक आपत्कालीन सहयोगको घोषणा गरेकोमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शहबाज शरिफलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्।

हालै भोटेकोशी नदी लगायत देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण नेपालमा सयौँको मृत्यु हुनुका साथै हजारौँ घरपरिवार विस्थापित भएका छन्। यसै सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई ऐक्यबद्धतासहित सहयोगको हात अघि बढाउन थालेको हो।

भदौ १३, २०८३ शनिबार ०८:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।