रसुवा बाढी अपडेट : ५७९ जनाको शव फेला, नुवाकोटमा मात्रै १२ सय ६७ घर पूर्ण रूपमा नष्ट
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको विपद्मा परेकाहरूको शव भेट्ने क्रम जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै हालसम्म विभिन्न जिल्लाबाट ५७९ जनाको शव फेला परेको जनाएको छ। अझै १९ सय २४ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार बाढी र विपद्बाट रसुवा, नुवाकोट, धादिङ हुँदै तल्लो तटिय क्षेत्र नवलपरासी र चितवनसम्म ठूलो मानवीय क्षति भएको छ।
हालसम्म चितवनमा सबैभन्दा बढी २३३ जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा १५४, गोरखामा ४६, धादिङमा ४०, नुवाकोटमा ३७, तनहुँमा ३०, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
नुवाकोटमा मात्रै १२ सय ६७ घर पूर्ण रूपमा नष्ट
नुवाकोट जिल्लाको प्रारम्भिक द्रुत लेखाजोखा विवरण अनुसार बाढी र पहिरोले त्यहाँ अकल्पनीय क्षति पुर्याएको छ। आधिकारिक तथ्यांकअनुसार १२ सय ६७ घरधुरी पूर्ण रूपमा नष्ट भएका छन्। यसका अतिरिक्त १२ सय ५३ घरधुरीमा आंशिक क्षति पुगेको छ।
बाढीका कारण नुवाकोटमा मात्रै ३ हजार ९५ परिवार प्रभावित भएका छन् भने १८ सय ९७ घरधुरी पूर्ण रूपमा विस्थापित भई अस्थायी आश्रय स्थल विद्यालय, सार्वजनिक भवन र आफन्तकोमा बसिरहेका छन्। नुवाकोटको छुट्टै तथ्यांक अनुसार त्यहाँ ९५ जनाको मृत्यु भएको, ४१४ जना बेपत्ता रहेको र १८५ जना घाइते भएको उल्लेख छ।
विपद्ले नुवाकोटको कृषि र पूर्वाधारमा ठूलो धक्का दिएको छ। बेलकोटगढी, विदुर, तारकेश्वर र किस्पाङमा गरी कुल ४४ सय ४० रोपनी/विघा क्षेत्रफलको कृषि बाली नष्ट भएको छ। त्यसैगरी, २ हजार ३५ पशुचौपाया र १६ हजार ५०० पन्छीको क्षति भएको छ जसमा विदुर नगरपालिकामा सबैभन्दा बढी क्षति छ।
सडक तथा पुलतर्फ विदुरमा १० किमी सडक, १ आरसीसी पुल र १ झोलुंगे पुल पूर्ण रूपमा नष्ट भएका छन् भने किस्पाङमा २ वटा पक्की पुल र जलविद्युत आयोजनाका संरचनाहरूमा क्षति पुगेको छ। ९५१ वटा खानेपानी प्रणाली अवरुद्ध हुँदा महामारीको जोखिम बढेको छ।
अझै टरेको छैन जोखिम, ल्हेन्दे खोलामा बन्यो ताल
प्राधिकरणले थप जोखिम अझै कायम रहेको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
स्याटेलाइट तस्बिरको विश्लेषण अनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्ग किलोमिटर क्षेत्रफलको ताल बनेको छ। यो प्राकृतिक बाँध फुटेमा तल्लो तटिय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने खतरा रहेको छ।
४ हजार भन्दा बढीको उद्धार, राहत वितरण तिव्र
खोज तथा उद्धारका लागि १५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म जलविद्युतका सुरुङ र हवाई उडानमार्फत कुल ४,४५१ जनाको जीवितै उद्धार गरिएको छ, जसमा १२९ जना विदेशी नागरिक समेत छन्।
राहत वितरणका लागि नेपाल सरकारले रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख र अन्य १५ पालिकालाई ६ करोड ७५ लाख गरी कुल ९ करोड २५ लाख रुपैयाँ नगद पठाइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नुवाकोटको मैथली ब्यारेकलाई आपत्कालीन गोदामघर बनाई हेलिकोप्टर र ट्रकमार्फत चामल, पाल, स्लिपिङ ब्याग, औषधि र खानेपानी निरन्तर प्रभावित क्षेत्रमा पठाइँदैछ।
यसैबीच, चीनमा अलपत्र परेका नेपाली नागरिकहरूको सहज फिर्तीका लागि बेइजिङस्थित नेपाली राजदूतावास र ल्हासास्थित महावाणिज्यदूतावाससँग समन्वय भइरहेको र सम्पर्कका लागि हटलाइन नम्बरहरू समेत सार्वजनिक गरिएको छ।
भदौ १३, २०८३ शनिबार ०७:१५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।