मनोहराको भग्नावशेषको ओतमा भेटिएका ६२ वर्षीय 'हुकुमबासी' दिलबहादुर

मनोहराको भग्नावशेषको ओतमा भेटिएका ६२ वर्षीय 'हुकुमबासी' दिलबहादुर

काठमाडौं : मनोहरा खोलाको किनारमा डोजरले प्वाल पारिदिएको पलङको फल्याक र अन्य काठलाई तेस्रो पारेर बनाएको ओतमा टुक्रुक्क बसिरहेका भेटिए, ६२ वर्षीय दिलबहादुर कार्की। बाहिर झमझम पानी परिरहेको थियो।

चार कोठाको टहरा थियो उनको, सुरक्षाकर्मीको डफ्फाले घेरेर डोजरले भत्काइदियो। त्यही भग्नावशेषमा रहेका काम लाग्ने इँटा बटुलेर बसिरहेका रहेछन् उनी। सरकारले सुरक्षाका लागि भनेर उनीसहितको टहरा भत्काइदियो। ६२ वर्षीय कार्की जीविकोपार्जनका लागि सरकारले भत्काएको आफ्नै टहराको इँटादेखि डन्डीसम्म बेच्न जम्मा गरिरहेका रहेछन्।

“पहिला कति महँगोमा किनेको इँटा हो। अब घर नै नभए पनि केही पैसा भए पनि आउँछ भनेर इँटा केलाएर बसेको,” ओत लागेको ठाउँबाट आफ्नो जमिन देखाउँदै उनले उकेरासँग भने, “खाजा खाने पैसा पनि हुन्छ। आफैले निकालेन भने अहिले कवाडीले सबै उठाएर लान्छन्।”

सरकारले डोजर हानेर अलपत्र छाडेको ठाउँमा कवाडी सामान संकलन गर्नेहरूको मेला नै लागेको छ। मनोहरामा पनि त्यस्तै देखियो। फलाम, काठदेखि लिएर जे-जे भेटिन्छ टिपिरहेका थिए उनीहरू। दिलबहादुरले भने घर भत्किए देखिनै त्यहीँ बसेर आफ्नो छाप्रोको इट्टा जम्मा पारिरहेका रहेछन्। उनी दिनभर इट्टा संकलन गर्छन् अनि बेलुका नजिकैको तरकारी बजारको पाटीमा गएर सुत्छन्। उनका लागि होल्डिङ सेन्टर त्यही पाटी रहेछ।

वैशाख ११ गते सम्म उनी अहिले अँध्यारो अनुहार बनाएर बसेको ठाउँमा तरकारी फलिरहेको थियो। त्यहीँ उनको सानो परिवार बस्ने टहरा थियो। ३५ वर्षदेखि उनीहरू यहीँ बसेका रहेछन्। टहरा नै नरहेपछि परिवारका सदस्यहरू तितरबितर भए। श्रीमती र माइली छोरी जेठी छोरीसँग बसेका छन्। उनी यतै। नेपालभर कतै एक टुक्रा जग्गा भए पनि सरकारले नाम नटिप्ने सुनेर उनी नाम टिपाउन पनि गएका रहेनछन्। hu

“जग्गा भएकोलाई केही पनि दिँदैनन् रे। खोटाङको पाखामा चार आना जति जग्गा थियो पहिला। जग्गा रहेछ भनेर नाम नलेख्लान् भनेर नाम टिपाउन पनि गएको छैन,” आँखा भरि आँसु पारेर उनले भने, “जग्गा मात्र हेरेर त के हुन्छ र। कस्तो ठाउँको जग्गा,  कति जग्गा छ, त्यसले खान पुग्छ पुग्दैन हेरिदिए त हुन्थ्यो। तर अब  प्रधानमन्त्री नै लागे पनि हामीले के नै गर्न सक्छौँ र!”

‘डोजरले घर भत्काउँदा होस नै हरायो

उनको सबैभन्दा चित्त दुखेको दुख गरेर जोडेको सामान पनि भग्नावशेषमै पुर्ने दमनदेखि रहेछ। डोजर आउँछ रे भन्ने सुनेका उनले सामान निकाल्न जोरजाम गर्दागर्दै डोजर आएर टहरामा हानेको रहेछ। भएका सामान सबै त्यहीँ पुरिएको बताए उनले।

“दुई दिन अघि सूचना आएको रहेछ। म बाहिर काममा जान्थेँ। यस्ता हल्ला आइरहन्छन्। त्यसबारे थाहा पनि भएन,” उनले भने, “ सामान त एक सिन्का पनि निकाल्न पाइन। डोजरले हानेर गर्ल्यामगुर्लुम ढाल्यो। सानो भान्छा अनि बर्खामा पानी चुहिने भयो भनेर नयाँ छाना हालेको थिएँ। सबै पेल्यो।”

उनको काम डकर्मी रहेछ। त्यसैले परिवारको जोहो गरिरहेका उनी अहिले काममा जान पनि पाएका छैनन्। परिवारका सदस्य भेटेका पनि छैनन्। त्यही भग्नावशेष वरपर टोलाएर बस्ने रहेछन् उनी।

“टहरा हटाउन भनेर बन्दुक बोकेकाहरू आए। बन्दुक बोकेकाहरुले हाम्रो कुरै सुनेनन्।  कमसेकम सामान त निकाल्न दिए हुन्थ्यो! तर भत्काइहाले केही निकाल्नै पाइएन। मेरो त होसै हरायो। ” उनले भने।

कीर्तिपुर लगायतका केही होल्डिङ सेन्टरमा केही विस्थापित छन्। तर उनी जस्तै विस्थापितहरू भने अहिले पनि भग्नावशेष वरपर नै बस्ने गरेको देखियो। तर डोजर लगाएर भत्काएदेखि सरकारी टोली फर्किएको रहेनछ।

जोखिममा रहेकाहरूलाई सुरक्षा गर्ने भनेर सरकारले वैशाख १२ बाट डोजर चलाउन सुरु गरेको थियो। थापाथली बस्तीबाट सुरु भएको बस्ती हटाउने काम विस्तार हुँदै अन्यत्रसम्म पुग्यो। वैशाख २१ गते सम्मको तथ्याङ्क अनुसार १५ हजार तीन सय १६ व्यक्ति विस्थापित भइसकेका छन्। मनोहरामा मात्र १ सय २९ घरधुरी भत्काइएको तथ्यांकमा उल्लेख छ।  

बालेनको डोजरे विकास

वैशाख २५, २०८३ शुक्रबार १७:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।