नुवाकोट पुगे प्रधानमन्त्री कार्यालयले खटाएका ५ ड्रोन पाइलट, तर उडाउनलाई ड्रोन नै छैन

नुवाकोट पुगे प्रधानमन्त्री कार्यालयले खटाएका ५ ड्रोन पाइलट, तर उडाउनलाई ड्रोन नै छैन

नुवाकोट : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति र नदीको वर्तमान अवस्थाको ‘म्यापिङ’ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(पीएमओ)ले ५ जना ड्रोनविनाका ड्रोन पाइलटलाई विदुर पठाएको छ।

तर ती पाइलटहरूसँग उडाउनका लागि ड्रोन नै नभएको पाइएको छ। खोलाको अवस्था र जोखिमको जानकारी लिन ड्रोन अत्यन्तै आवश्यक भए पनि पाइलट मात्रै पठाउँदा प्राविधिक काम अगाडि बढ्न सकेको छैन।

उद्धारमा खटिएका एक स्वयंसेवकले उकेरासँग भने, ‘नदीको म्यापिङ गर्न र जोखिम निर्धारण लागि पिएमओ अफिसबाट ४/ ५ जना पाइलट लगेर राख्या छ। तर उनीहरूसँग ड्रोन नै छैन।’

सामान्य स्वयंसेवक नजान आग्रह, विशेषज्ञ टोलीको मात्र खाँचो
उद्धारमा खटिएका स्वयंसेवकका अनुसार, प्रभावित क्षेत्रमा अहिले सामान्य नागरिक वा स्वयंसेवकहरू जानु निकै जोखिमपूर्ण छ। त्यसैले, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त विशेषज्ञ टोलीलाई मात्र उद्धारमा खटाउनुपर्ने अवस्था छ।

प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएकाले रातिको समयमा उद्धार गर्न कठिनाइ भइरहेको छ। उद्धार टोलीले तत्काल सोलार प्यानल, ब्याट्री र डिजेल/पेट्रोलबाट चल्ने जेनेरेटरको आवश्यकता देखिएको छ।

उज्यालोका लागि राति काम गर्न मिल्ने ‘फोकसिङ लाइट’हरू, उद्धार गरिएका गम्भीर घाइतेहरूका लागि अक्सिजन र खोला र क्षतिको म्यापिङ गर्न तत्काल ड्रोन क्यामेरा आवश्यक भएको उद्धारमा खटिएका ती अधिकारीले उकेरालाई जानकारी दिए।

जलविद्युत् आयोजना र बस्तीको अवस्था
स्थलगत दृश्यहरूका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको पावरहाउस र आसपासको क्षेत्रमा बाढीले ठूलो मात्रामा लेदो र माटो थुपारेको छ।

यद्यपि, पहाडबाट झरेका जलविद्युत्‌का मुख्य पाइपहरू भने सुरक्षित नै देखिएका छन्। खोला किनारका ढुङ्गा र माटोले बनेका कच्ची घरहरू बाढीले बगाएको छ। भत्किएका सडक र संरचनाहरूमा अहिले डोजर लगाएर लेदो पन्छाउने र बाटो खुलाउने प्रयास भइरहेको छ।

यस विषम परिस्थितिमा उद्धार र राहतमा सघाउन चाहने प्राविधिक टोली वा संस्थाहरूलाई अत्यावश्यक उपकरण ड्रोन, जेनेरेटर, लाइट, अक्सिजन उपलब्ध गराएर सहयोग गर्न अपिल गरिएको छ।

भदौ ११, २०८३ बिहीबार १०:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।