भोटेकोसी बाढीको कारण : 'चट्टानसहित हिम पहिरो चीनको ल्हेन्दे खोलामा मिसिनु'
काठमाडौं : राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार भोटेकोसीमा आएको बाढीको कारण चीनको तिब्बततिरको ल्हेन्दे खोलामा मिसिएको हिम चट्टासहितको पहिरो रहेको बताएको छ।
सामाजिक सञ्जालमा प्लानेट ल्याबको तस्बिरसहित विश्लेषण सार्वजनिक गर्दै उसले यो सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार प्रारम्भिक अध्ययनबाट नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको देखिएको छ।
बाढी अगाडि भूकम्प गएको समेत दाबीहरू सार्वजनिक भए पनि यसबारे प्राधिकरणले केही उल्लेख गरेको छैन। बुधवार बिहान एक्कासि आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङको नदी क्षेत्रमा ठूलो जनधनको क्षति गराएको छ।
खोजी, राहत र उद्धारको काम जारी रहेको छ। हालसम्म भौतिक र मानवीय क्षतिको एकिन विवरण सार्वजनिक भएको छैन। बाढीका कारण फसेका १ सय १४ जनाको हवाई उद्धार भएको छ।
सार्वजनिक विवरण अनुसार बाढीका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता छन्। घाइते भएका २५ जनाभन्दा बढीको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनाका टनेल र निर्माणस्थलमा खटिएका ६० जना कामदार तथा इन्जिनियरहरूसँग सम्पर्क टुटेको छ। रसुवा भन्सार कार्यालय टिमुरेका १५ जना कर्मचारी, विभिन्न बैंकका शाखामा कार्यरत २६ कर्मचारी र सुरक्षाकर्मीसमेत ३२ जना बेपत्ता वा सम्पर्कविहीन अवस्थामा छन्।
पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार बाढीपछि २९१ विदेशीसहित ३८४ जना यात्रु सम्पर्कविहीन छन्। बाढीले ठूलो भौतिक क्षति गराएको छ तर अहिले नै एकिन गर्न सकिने अवस्थामा छैन। सार्वजनिक भएको क्षतिको विवरणमा बुधवारको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्म २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज बगाएको छ।
चिनिया समय अनुसार बिहान १० : ३० बजे बाढी देखिए पनि नेपालतर्फ भने ढिला सूचना आएको थियो। नेपाल र चीनको समय तालिका २ घण्टा १५ मिनेट फरक रहेको छ। यो अनुसार नेपाली समय अनुसार बुधवार बिहान ८ बजेर १५ मिनेटमा तिब्बती क्षेत्रमा बाढी आइसकेको थियो। तर नेपालमा यसबारे करिब ४५ मिनेट ढिला जानकारी आएको थियो।
भदौ १०, २०८३ बुधबार २०:०९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।