मनोहरा अस्पतालको मोडुलर ओटीको टेन्डरको स्पेशिफिकेशन निजी फर्ममा बनाएर लक्ड, भ्रष्टाचार देखिने गरी असम्बन्धित प्याकेज
काठमाडौं : कागेश्वरी मनोहरा नगर अस्पताल नेतृत्वले निश्चित सप्लायर्सको हितमा निजी फर्मबाट खरिद मापदण्ड बनाएर ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को खरिद प्रक्रिया अगाडि बढाएको छ।
खरिद प्रक्रियालाई खुला र प्रतिस्पर्धी बनाउनुको साटो सर्तहरू थप्दै, निर्माण लगायत मोडुलर ओटीसँग असम्बन्धित विषय समेत जोडेर अस्पतालले २०८३ साउन १९ मा करिब ८ करोड ६० लाखमा ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’ खरिद प्रक्रिया अगाडि बढाएको हो।
टेन्डरमा प्रस्तावको अनुभव, रकम, टेन्डरमा विभिन्न प्याकेज मिसाएर लक्ड गरिएको देखियो। अस्पतालले खरिद मापदण्ड बनाउन करारमा बायोमेडिकल इन्जिनियर राखेको छ। तर स्पेशिफिकेशन निजी फर्मबाट बनाइएको छ। अनि स्पेशिफिकेशनका सर्तहरू निश्चित सप्लायर्स कम्पनीको प्रस्ताव मात्र पास हुनेगरी बनाइएको छ।
बदनियतपूर्ण रूपमा अगाडि बढाइएको खरिदमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेल जोडिएका छन्। यी दुवैको रणनीतिमा बायोमेडिकल इन्जिनियर रवि पाण्डे सहयोगी देखिए।
यसको रमाइलो पक्ष के भने मनोहरा नगर अस्पतालले एकातर्फ करारमा बायोमेडिकल इन्जिनियर पाण्डेलाई नियुक्त गरेको छ तर टेन्डरको स्पेशिफिकेशन भने निजी ‘कन्सल्टिङ फर्म’का बायोमेडिकल इन्जिनियरलाई बनाउन लगाइएको छ।
स्थानीय तहका अस्पतालले आफूसँग जनशक्ति भएको अवस्थामा खरिद मापदण्ड आफैँ नबनाउने र आफूसँग दक्ष जनशक्ति नभए स्वास्थ्य सेवा विभागमा रहेको खरिद मापदण्ड माग्ने गरेको थियो। तर मनोहरा नगर अस्पतालले भने निजीबाट बनायो।
स्वयम् नगर अस्पतालका बायोमेडिकल इन्जिनियर पाण्डेले सो खरिद मापदण्ड निजी फर्मले बनाएको र आफूले हस्ताक्षर गरेको स्विकारे। उनले स्पेशिफिकेशन रिभ्यू भने गरेको दाबी गरे।
“त्यो डकुमेन्ट खास कन्सल्टेन्ट टिमले बनाएको हो”, मनोहरा अस्पतालका बायोमेडिकल इन्जिनियर पाण्डेले भने,“उहाँहरूले दिइसकेपछि रिभ्यु चाहिँ मैले गरेको हो।”
उनका अनुसार ‘एनआइपिएस’ नाम गरेको निजी फर्मका बायोमेडिकल इन्जिनियर राजु ढुंगेलले सो स्पेशिफिकेशन बनाएका हुन्। इन्जिनियर पाण्डे आफूले ‘मोडुलर ओटी, पोस्ट-अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को टेन्डर कागजात पहिलो पटक बनाउनुपरेकाले अर्कै निजी फर्मलाई बनाउन दिनुपरेको बताए।
“सिभिल वर्क सबै जानकारी नै हुँदैन, ओटीको मेरो फस्ट प्रोजेक्ट हो”,पाण्डेले भने,“ यो भन्दा अघि मैले हेरेको थिइनँ।... मैले बनाएको गन्जागोल हुन्थ्यो जस्तो लाग्छ।”
बायोमेडिकल इन्जिनियरले नै खरिद मापदण्ड निजी फर्मलाई बनाउन लगाएको स्विकारे पनि अस्पतालका कार्यकारी निर्देशक पौडेलले भने निजी फर्मबाट परामर्श मात्रै लिएको दाबी गरे।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख (उपेन्द्र कार्की), उप–प्रमुख (शान्ता थापा) र वडा नम्बर–६ का वडा सदस्य (प्रकाश फूयाल) लगायत अस्पताल सञ्चालक समितिमा रहने व्यवस्था छ। यसबारे कुरा गर्न नगर प्रमुख कार्कीलाई सम्पर्क गर्दा उनको फोन उठेन।
खरिद प्रक्रियामा देखिएको बदमासीबारे नगरपालिकाकी उप–प्रमुख शान्ता थापासँग कुरा गर्दा उनले खरिद प्रक्रियामा बदमासी भए टेन्डर प्रक्रिया नै रद्द गर्ने बताइन्।
“यदि कुनै सप्लायर्स कम्पनीलाई लक्षित गरेर यो टेन्डर गरिएको रहेछ भने यसलाई स्थगित गरेर पुनः टेन्डर प्रक्रिया गर्नुपर्छ” उप–प्रमुख थापाले भनिन्।
मापदण्डमा लक्ड, नयाँलाई प्रतिस्पर्धामा निषेध
यो खरिद प्रक्रियामा सप्लार्यसको योग्यताको मापदण्ड तोक्दा नै चलखेल भएको देखियो। योग्यता तोक्दा उस्तै प्रकृतिको टेन्डरको संख्या मात्र हैन रकम समेत तोकिएको छ। यसमा ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को ठेक्का प्रस्ताव गर्ने सप्लायर्स कम्पनीले ‘विगत तीन वर्षभित्रमा टेन्डरसँग मिल्दोजुल्दो प्रकृतिको कम्तीमा साढे ६ करोडको बढीमा दुई वटा खरिद सम्झौता गरेको हुनुपर्ने हुनुपर्ने सर्त राखिएको थियो।
प्रि-बिड मिटिङपछि यो सर्त संशोधन गरेर खरिद सम्झौताको संख्या बढाइयो। दुई वटा खरिद र त्यसको रकम साढे ६ करोड हुनुपर्ने सर्त राखिएकोमा ठेक्का संख्या २ बाट ३ बनाइयो। मुख्य आपूर्तिकर्ता (एकल संस्था वा जेभी सदस्य) वा उप–ठेकेदारका रूपमा काम गरेको अनुभव भए पनि हुने सर्त राखियो।
टेन्डरमा राखिएको यो सर्त हेर्दा तीन वर्ष भित्रमा ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को करिब साढे ६ करोडकै बढीमा तीन वटा टेन्डर नपाएको सप्लायर्स कम्पनी यो टेन्डर प्रस्तावका लागि सिधै अयोग्य हुन्छन्। यो सर्त खरिद प्रक्रिया प्रतिस्पर्धी र पारदर्शी बनाउन भन्दा पनि निश्चित कम्पनीबाहेक अन्यलाई प्रतिस्पर्धामा भागै लिन नलिने नियत प्रस्ट देखिन्छ।
कागेश्वरी मनोहरा नगर अस्पतालका कार्यकारी निर्देशक पौडेलले अधिकतम प्रतिस्पर्धी बनाउन खोजेको दाबी त गरे तर नयाँ र साढे ६ करोड भन्दा कम रकमको ओटी सेटअपको टेन्डरको काम गरेका सप्लायर्सलाई निषेध गर्नुको कारण खुलाउन सकेनन्।
टेन्डर कागजातमा उस्तै प्रकृतिको भनिएको छ। अस्पतालका कार्यकारी निर्देशक पौडेल यसअघि कुनै ठाउँमा मोडुलर ओटीको टेन्डर पाएकै कम्पनीलाई टेन्डर दिने उद्देश्य रहेको प्रस्टै खुलाए।
“कोरा पाटी आएर त मोडुलर ओटी जस्तो बनाउन गाह्रो पनि छ नि त”, अस्पतालका कार्यकारी निर्देशक पौडेलले,“मोडुलर ओटी गरेकै (सप्लायर्स) खोजेको हो हामीले। तीन वटा मोडुलर ओटी गरेको जो कोही आउन सक्ने भए।”
उनले तीन वटासम्म अनुभव लिन सकिने भन्ने खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा भएको प्रावधानलाई नै टेकेर टेन्डर गरेको तर्क गरे।
अस्पतालका बायोमेडिकल इन्जिनियर पाण्डेले नयाँ कम्पनीका सप्लायर्सले खरिदको सर्तले प्रतिस्पर्धा गर्न नपाउने स्वीकारे। “नयाँलाई चाहिँ निषेध भएकै हो”,बायोमेडिकल इन्जिनियर पाण्डेले भने।
असम्बन्धित टेन्डरको प्याकेज
मनोहरा अस्पताल नेतृत्वले कानुनको छिद्रमा खेल्दै असम्बन्धित र फरक प्रकृतिको टेन्डरको एउटै प्याकेज बनाएको समेत देखियो। संशोधन भएको भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र मनोहरा अस्पतालले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने भने सिधै भ्रष्टाचारजन्य कसुर देखिन्छ।
ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख छ। ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।
मनोहरा अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को असम्बन्धित विषयलाई समेत प्याकेज बनाएको छ। यो टेन्डरमा ‘सिभिल वर्कस् तथा कन्स्ट्रक्सन, मोडुलर अप्रेसन थिएटर, मेडिकल ग्यास पाइपलाइन तथा ग्यास सप्लाई सिस्टम, एक्स–रे भिउबक्स, लाइट्स र अन्य मेडिकल उपकरणलाई एउटै प्याकेजमा राखेर बोलपत्र आह्वान गरिएको छ।
पोस्ट अपरेटिभ वार्ड तथा रिकभरी रुम तथा सेट–अप, इलेक्ट्रो–हाइड्रालिक ओटी टेबल (हाइ–इण्ड), ४के क्यामेरा र मनिटर सहितको ओटी लाइटजस्ता उपकरणलगायतको टेन्डरलाई एउटै प्याकेजमा राखिएको छ।
यो टेन्डरको प्याकेजलाई सिभिल तथा कन्स्ट्रक्सन वर्क, मोडुलर ओटी, ग्यास पाइपलाइन सिस्टम, अस्पताल उपकरण र पोस्ट अपरेटिभ वार्ड तथा रिकभरी कोठाको छुट्टाछुट्टै टेन्डर गर्न सकिने भए पनि सेटिङ अनुसार नै एउटै प्याकेज बनाएर राख्नु संशोधन भएको भ्रष्टाचार निवारण ऐन विपरीत हुने देख्रिन्छ।
त्यतिमात्रै हैन, यो टेन्डरमा भएका कनै उपकरणमा यूएसएफडिए, कुनैमा सिइ, कुनैमा यएसएफडिए वा सिइ र कुनैमा यूएसएफडिए र सिइ मान्यताप्राप्त भएको हुनुपर्ने भन्ने गोलमटोल सर्त राखिएको छ।
अनि ओटी टेबल र ओटी लाइट जस्ता उपकरण त सहजै थाहा हुनेगरी एउटा उत्पादक कम्पनीलाई मात्रै मिल्नेगरी लक्ड गर्नु भएको रहेछ नि भन्ने जिज्ञासामा अस्पतालका बायोमेडिकल इन्जिनियर पाण्डेले सुरुमा ‘कन्सल्टिङ’ टिमले बनाएकै स्पेशिफिकेशन अगाडि बढाएको भए पनि पछि संशोधन गरेर सच्याइएको तर्क गरे।
“ओटी लाइट र ओटी टेबलमा चाहिँ सुरुमा सिइ एन्ड यूएसएफडिए भएको थियो”,अस्पतालका बायोमेडिकल इन्जिनियर पाण्डेले भने,“मैले पनि राम्ररी हेर्न भ्याइनँ। कन्सल्टेन्ट टिमले जसरी दिएको थियो त्यसरी नै हालिदिएको थिएँ।”
असम्बन्धित सामग्री र काम एकै ठाउँमा जोडेर किन प्याकेज बनाएको भन्ने जिज्ञासामा बायोमेडिकल इन्जिनियर पाण्डेले टुक्राएर टेन्डर गर्दा घाटा हुन्छ की भनेर प्याकेज गरिएको तर्क गरे।
निर्देशक पौडेलले भने विभिन्न समस्या हुने भएकाले कानुसम्मत ढंगले नै प्याकेज गरिएको दाबी गरे। ओटी टेबल र ओटी लाइटको त सिधै देखिने गरी नै एउटा निश्चित सप्लायर्सलाई टेन्डर दिनेगरी स्पेशिफिकेशन लक्ड गरिएको रहेछ नि भन्ने जिज्ञासामा पौडेलले भने, “त्यस्तो छँदै छैन। कुनै खालको त्यस्तो कम्पनी ब्रान्ड छ भने त म बायोमेडिकललाई पनि कार्वाही गर्छु।”
कर्मकाण्डी संशोधन गरेर अनुमोदन
अस्पतालले टेन्डर आह्वान गरेको ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को ठेक्का (आइएफबी) नम्बर केएमएनएच-गुड्स-एनसीबी-०१-२०८३-८४ हो। अस्पतालले ‘मोडुलर ओटी, पोस्ट–अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’ खरिदको प्रि–बिड मिटिङ भदौ एक गते दिउँसो एक बजेलाई तोक्यो। तोकिएको मितिमा प्रि–बिड मिटिङ पनि भएको देखिन्छ।
प्रिबिड बैठकपछि अस्पतालको खरिद प्रक्रियामा रहेको टेन्डरको प्राविधिकलगायतको स्पेशिफिकेशनका केही बुँदा संशोधन गरेर साउन २५ र भदौ चारमा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा प्रकाशित गरेको देखिन्छ।
अस्पतालले प्रि-बिड मिटिङपछि ‘मोडुलर ओटी, पोस्ट-अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’का केही बुँदा संशोधन गरे पनि मुख्य लक्ड गरिएको सर्तका बुँदाहरू भने संशोधन गरेन। संशोधन गरिएका बुँदा समेत गोलमटोल बनाएर झुक्याउनेगरी राखिएको देखिन्छ।
टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति भदौ ११ गते बिहीबार दिउँसो १२ बजेलाई तोकिएको छ भने टेन्डर खुल्ने समय सोही दिन दिउँसो दुई बजेलाई तोकिएको छ।
भदौ ११, २०८३ बिहीबार ००:०४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।