विपद्को सूचनामा चीनको दोस्रो धोका, केरुङमा बाढी आएको ४५ मिनेटपछि रसुवाका सिडिओले दिएका थिए जानकारी
काठमाडौं : चिनिया मिडिया सिआरआइ अनलाइन नेटवर्कका अनुसार तिब्बतको केरुङ काउन्टीमा चिनिया समय अनुसार बिहान १० : ३० बजे बाढी देखिएको थियो। नेपाल र चीनको समय तालिका २ मिनेट १५ मिनेट फरक रहेको छ। यो अनुसार नेपाली समय अनुसार बुधवार बिहान ८ बजेर १५ मिनेटमा तिब्बती क्षेत्रमा बाढी आइसकेको थियो।
तर नेपालमा यसबारे करिब ४५ मिनेट ढिला जानकारी आएको थियो, त्यो पनि चिनियाको कुनै निकायबाट हैन, रसुवाका प्रमुख जिल्ला अधिकारीबाट। विपद् प्राधिकरणको प्रवक्ता शान्ती महतका अनुसार रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले करिब नौ बजे फोन गरेर स्थानीयले केरुङबाट नेपालतिर बाढी आएको बताएको जानकारी दिएका थिए।
रसुवाको नेपालतर्फको टिमुरे क्षेत्रको सार्वजनिक भएको भिडियो फुटेजमा त्यहाँ रहेका स्थानीयहरू भाग्दाभाग्दै बाढीले बगाएको देखिन्छ। अर्थात् तिब्बतको केरुङ क्षेत्रमा आएको बाढीबारे समयमै नेपाली सीमामा समेत जानकारी आइपुगेको देखिएन। जब स्थानीयले नदीमा बाढी देखे तब मात्र उनीहरू ज्यान जोगाउन भागेको र भाग्नेक्रममा अधिकांश बाढीको चपेटामा परेको देखिन्छ।
सरकारी निकायले दिउस मात्र चिनिया पक्षलाई उद्धृत गर्दै दिउसो १:३५ बजे चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएकाले भोटेकोसी र त्रिशूलीको क्षेत्रमा जोखिम कायमै रहेको भन्दै सूचना जारी गरेको थियो।
गत वर्ष सोही नदीमा बाढी आउँदा पनि चिनिया पक्षले नेपाललाई बेलैमा जानकारी दिएको थिएन। गत वर्षको बाढीको कारण तिब्बत क्षेत्रमा हिमताल फुट्दा आएको खुलेको थियो। बुधवारको बाढीको एकिन कारण खुलिसकेको छैन। तर बाढीको प्रारम्भिक विन्दु केरुङ क्षेत्र रहेको खुलेको छ।
भदौ १०, २०८३ बुधबार १५:४१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
