ईभीका ‘लुकेका ह्यान्डल’ घातक भएपछि नेपाल छिरेका ब्रान्डसहित ४० लाख कार फिर्ता, २०२७ देखि प्रतिबन्धै लाग्ने
एजेन्सी : विद्युतीय गाडी (ईभी) लाई आकर्षक, आधुनिक र गतिशिल बनाउन विश्वभर निकै लोकप्रिय बनेको ‘हिडन डोर ह्यान्डल’ (गाडीको बडीभित्र लुक्ने ढोकाको ह्यान्डल) अहिले गम्भीर सुरक्षा चुनौतीको विषय बनेको छ।
सडक दुर्घटनाका बेला विद्युतीय प्रणाली अवरुद्ध भएर ढोका नखुल्दा यात्रुहरू गाडीभित्रै जलेर मृत्यु भएका घटना सार्वजनिक भएपछि चीनले टेस्लासहित ४० लाखभन्दा बढी कार फिर्ता गराएको छ।
चीनको इतिहासकै यो सबैभन्दा ठूलो रिकलसँगै आगामी १ जनवरी २०२७ देखि गाडीको भित्र र बाहिर हातैले खोल्न मिल्ने ह्यान्डल नभएका गाडी बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिएको छ। विश्वमै यस्तो प्रतिबन्ध लगाउने चीन पहिलो देश बनेको छ।
आकर्षक डिजाइन, तर ज्यानै जाने जोखिम
टेस्लाका प्रमुख एलन मस्कले सुरु गरेपछि लोकप्रिय बनेको यो डिजाइन अहिले चीनमा बिक्री हुने ६० प्रतिशतभन्दा बढी ईभी र हाइब्रिड गाडीहरूमा प्रयोग हुँदै आएको छ।
गाडीको बडीसँगै मिलेर रहने यस्ता ह्यान्डलले गाडीलाई आकर्षक देखाउँछ। दुर्घटनाका बेला गाडीभित्रको पावर सप्लाई बन्द हुँदा बटन वा सेन्सरले काम गर्न छाड्छन्।
यस्तो अवस्थामा भित्रबाट यात्रु बाहिर निस्कन सक्दैनन् भने बाहिरबाट उद्धारकर्ताले पनि ढोका खोल्न सक्ने कुनै विकल्प पाउँदैनन्।
साओमी र टेस्लाका कारमा भएका भयानक दुर्घटना
पूर्वी चीनको टोङलिङ शहरमा साओमीको एसयू७ विद्युतीय कार दुर्घटना हुँदा ढोका लक भएर ३ जना यात्रुको गाडीभित्रै जलेर मृत्यु भएको थियो।
यस्तै अमेरिकाको क्यालिफोर्नियामा सन् २०२४ मा टेस्लाको साइबरट्रक दुर्घटना हुँदा बाहिर ह्यान्डल नभएको र भित्रको बटनले काम नगरेपछि ३ जना कलेज विद्यार्थीको मृत्यु भएको थियो।
उक्त दुर्घटनामा जीवित बचेका एक यात्रुले टेस्लाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।

चीनको बजार नियमन प्रशासनका अनुसार टेस्लाका झन्डै ३० लाख गाडी फिर्ता बोलाइएको छ भने चिनियाँ उत्पादकहरू साओमी, गिली र नेपालमा आयात भइरहेको एक्सपेङका गरी साढे सात लाखभन्दा बढी गाडी फिर्ता बोलाइने सूचीमा छन्।
गाडी निर्माताहरूलाई ढोका कसरी खोल्ने भनेर भित्र प्रस्ट देखिने चेतावनी लेबल राख्न र दुर्घटना हुँदा स्वचालित रूपमा झ्याल खुल्ने सफ्टवेयर अपडेट गर्न निर्देशन दिइएको छ।
विज्ञहरूको यसको समाधानका लागि सफ्टवेयर नभएर मेकानिकल ह्यान्डल नै चाहिने तर्क गरेका छन्। उनीहरूका अनुसार केवल स्टिकर टाँस्ने वा सफ्टवेयर अपडेट गर्ने कदम पूर्ण समाधान नभएको समेत तर्क गरेका छन्।
जोखिम व्यवस्थापन परामर्शदाता गोकुल कृथिवासन भन्छन्, ‘त्रास, आगो र धुवाँले भरिएको कारभित्र मानिसले स्टिकरको अक्षर पढ्न सक्दैन, उसले स्वाभाविक रूपमा ढोका तान्ने प्रयास गर्छ। त्यसैले बिजुली नभए पनि भित्र र बाहिर दुवैतर्फबाट हातले खोल्न मिल्ने परम्परागत मेकानिकल प्रणाली नै जीवन बचाउने अचुक उपाय हो।’
चीनको यो निर्णयपछि अहिले अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन र युरोपेली युनियनका नियामकहरूले पनि आफ्ना सुरक्षा मापदण्ड परिमार्जन गर्न गृहकार्य सुरु गरेका छन्।
भदौ १०, २०८३ बुधबार ०९:५६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।