भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका ९७ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका ९७ जना अझै सम्पर्कविहीन

बुटवल : रसुवाको भोटेकोशीमा आएको बाढीपछि कामको सिलसिलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका ९७ जना अझै सम्पर्कविहीन छन्। सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना भने परिवारको सम्पर्कमा आए।

विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनायो। 

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए। उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना छन्। त्यसपछि दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना छन्।

सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए। केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरू पनि सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गरिरहेको र थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको सङ्ख्या बढ्न सक्ने जनाएको छ। 

प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको छ।

भदौ ११, २०८३ बिहीबार १५:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।