भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्। 

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन्।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए।

बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २५ जना रहेका छन्।

यसबाहेक सिङ्गापुर, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, जापान, जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्डलगायतका ३३३ देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।

भदौ ११, २०८३ बिहीबार १४:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।