आज दिनभरीमा नुवाकोट जिल्लाभर विद्युत पुर्‍याउने प्राधिकरणको दाबी, रसुवामा कति दिन लाग्छ?

आज दिनभरीमा नुवाकोट जिल्लाभर विद्युत पुर्‍याउने प्राधिकरणको दाबी, रसुवामा कति दिन लाग्छ?

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका प्रभावित क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत बिजुली सुचारु गर्न थालेको छ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार नुवाकोट, धादिङलगायतका अधिकांश बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट लाइन तानेर बिजुली बाल्ने प्रयास भइरहेको छ।

कहाँ-कहाँ बल्यो बिजुली?
सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन तानेर नुवाकोटका खरानीटार, समुन्द्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सञ्चालन भइसकेको छ।

यस्तै, बालाजु-त्रिशूली ६६ केभी लाइनबाट ११ केभी लाइन तानेर आज दिउँसो ३ बजेसम्म नुवाकोट जिल्लाभरि नै विद्युत् पुर्याउने गरी तीव्र गतिमा काम भइरहेको शाहीले बताए।

मलेखु, गजुरी र मुग्लिन क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ भने धादिङबेँसी-रातेमाटे ३३ केभी प्रसारण लाइन चार्ज गरिएकाले धादिङ क्षेत्रमा पनि विद्युत् आपूर्ति नियमित भएको छ।

रसुवामा बाढीले संरचनामा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको छ। प्रधानमन्त्री कार्यालय र विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी एक हप्ताभित्र रसुवामा पनि विद्युतीकरण गर्ने कार्ययोजनासहित काम भइरहेको छ।

त्रिशूली ३ ‘ए’ मा उद्धार जारी, उच्च नेतृत्व कार्यक्षेत्रमै
विद्युत् पुनःसञ्चालनसँगै प्राधिकरणले बाढीमा फसेका कर्मचारी तथा स्थानीय नागरिकको उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखेको शाहीले बताए।

त्रिशूली ३ ‘ए’ लगायतका जलविद्युत् आयोजनाहरूमा सम्पर्कविहीन भएका कर्मचारीहरू र आयोजना आसपासका बासिन्दाको उद्धारका लागि नेपाली सेनासँग समन्वय गरेर टोली खटाइएको छ।

हिजो मौसमको खराबीका कारण दुई पटक प्रयास गर्दा पनि हेलिकप्टर जान नसकेकोमा आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिइएको छ।

स्थिति नियन्त्रण र उद्धारको नेतृत्व लिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) र उपकार्यकारी निर्देशकहरू (डीएमडी) आफैँ नुवाकोट र प्रभावित क्षेत्रको फिल्डमा खटिएका छन्।

प्राधिकरणका सञ्चालक सदस्य शाहीले विपद्को यस घडीमा मानवीय उद्धारलाई पहिलो प्राथमिकता दिइएको र अवरुद्ध सबै क्षेत्रमा छिटोभन्दा छिटो विद्युत् सेवा पुर्याउन प्राधिकरणको सम्पूर्ण प्राविधिक टोली खटिरहेको जानकारी दिएका छन्।

भदौ ११, २०८३ बिहीबार १४:१३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।