विहान ११ बजेसम्म बाढीमा हराएका १६५ जनाको शव भेटियो, ८२६ जना अझै बेपत्ता
काठमाडौं : नेपाल-चीन सीमावर्ती क्षेत्र रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म १६५ जनाको शव फेला परेको छ भने ५७९ जना पर्यटकसहित ८२६ जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो आधिकारिक विवरणअनुसार बाढीमा परी ७३ जना गम्भीर घाइते भएका छन् भने नेपाली सेना र हेलिकप्टरमार्फत ३६८ जनाको जीवितै उद्धार गरिएको छ।
बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लाका नदी किनारमा भेटिने क्रम जारी छ। हालसम्म फेला परेका १६५ शवमध्ये सबैभन्दा बढी चितवनमा ६४ जनाको फेला परेको छ।
त्यसपछि धादिङमा २७ जना, नवलपरासी (पूर्व)मा २६ जना, गोरखामा २० जना, नुवाकोटमा १२ जना, तनहुँमा ९ जना, नवलपरासी (पश्चिम)मा ५ जना र रसुवाको २ जनाको शव भेटिएको हो।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८२६ जना सम्पर्कविहीन रहेका छन्। जसमा घुम्न गएका विदेशी तथा स्वदेशी पर्यटक र सुरक्षाकर्मीसमेत ठूलो संख्यामा छन्।
बाढीमा परी घाइते भएका ७३ जना मध्ये रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
११ हेलिकप्टर परिचालन, ३६८ जनाको उद्धार
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका ७ हजार ४ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ३,३१८, नेपाली सेनाका २,३९१ र सशस्त्र प्रहरीका १,७४२ जना जवान खटिएका छन्।
आज बिहान ११ वटा हेलिकप्टरले ३७ पटक उडान भरी ३०५ जना लाई उद्धार गरेका छन्। सुरक्षाकर्मीको टोलीले सडकमार्ग र डोरीको सहायताले आज बिहान मात्रै थप ६३ जना को सकुशल उद्धार गरेको छ।
राहत तथा इन्धन व्यवस्थापन
सरकारले प्रभावित जिल्लाहरूमा तत्कालका लागि नगद राहत र आवश्यक सामग्री पठाएको छ।
रसुवालाई रु. १ करोड, नुवाकोटलाई रु. १ करोड र धादिङलाई रु. ५० लाख तत्काल उपलब्ध गराइएको छ भने चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका सामग्री बोकेका १० वटा ट्रक र सञ्चार सम्पर्कका लागि ‘सञ्चार सेट’हरू प्रभावित क्षेत्रमा पठाइएको छ।
नुवाकोटमा २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेकोमा थप १५/१५ हजार लिटर डिजेल-पेट्रोल पठाइएको छ। यस्तै, उद्धारमा खटिएका हेलिकप्टरका लागि नुवाकोटमा ८ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र थप ९ हजार लिटर इन्धन पठाइएको छ।
भदौ ११, २०८३ बिहीबार १३:१४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।