खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय संकटको कठिन समयमा बाढी प्रभावितहरूको खोजी र उद्धारका लागि आफ्ना पार्टी कार्यकर्ताहरूलाई परिचालन कांग्रेस पूर्ण रूपमा तयार रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपद्को समयमा राज्यले परिचालन गर्न चाहेको अवस्थामा आफूहरू सहयोग गर्न तयार रहेको बताए।

थापाका अनुसार बैठकमा कांग्रेसको प्रस्तावप्रति गृहमन्त्रीले तत्कालै विपद्ग्रस्त क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताएका थिए। विशेषगरी सडक सफा गर्ने तथा खोज र उद्धारका काममा पार्टीका कार्यकर्ताको संख्या परिचालन गर्नुपर्ने प्रस्ताव आएको उनले जानकारी दिए।

"अहिले जे आवश्यकता छ, त्यो अनुसार आफ्नो–आफ्नो पार्टीभित्र विपद्का संरचनाहरू बनाएका छौँ। ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूमा समन्वय गरिकन परिचालित गर्नेछौँ," उनले भने। 

बैठकमा भएको छलफलका आधारमा अहिलेको आवश्यकता र सरकारको समन्वयअनुसार कांग्रेसले आफ्ना पार्टीभित्र रहेका विपद् संरचनालाई परिचालन गर्ने थापाले बताए।

थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएको बताए।

बैठकमा विभिन्न विषयमा छलफल हुनुका साथै केही विषयमा निर्णयसमेत गरिएको उनले जानकारी दिए। सरकारका तर्फबाट भइरहेको खोज तथा उद्धारका सम्बन्धमा बैठकमा प्रारम्भिक जानकारी गराइएको र त्यसमा आफूहरूले पाएका सूचना तथा आफ्ना बुझाइ सरकारलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले प्रस्तुत गरेको थापाले बताए।

उनले बाढीमा हराएका नागरिकको खोजी, उद्धार र तत्काल राहत पुर्याउनु अहिलेको पहिलो प्राथमिकता भएको बताए। राज्यका तर्फबाट सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्रलगायत सबै संयन्त्र परिचालन भइरहेको उनले जानकारी दिए।

यद्यपि, नियमित रूपमा राज्यसँग रहेका साधन–स्रोतबाहेक अन्य उपलब्ध साधन–स्रोतलाई पनि आवश्यकताअनुसार राज्यले परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा आफूहरूले जोड दिएको थापाले बताए।

भदौ ११, २०८३ बिहीबार १२:५२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।