बाढी प्रभावित क्षेत्रमा ५०० सोलार पावर बैंक पठाउँदै ऊर्जा मन्त्रालय

बाढी प्रभावित क्षेत्रमा ५०० सोलार पावर बैंक पठाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं : बाढीले विद्युत् पूर्वाधार संरचनामा ठूलो क्षति पुर्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ। 

बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा देशको कुल उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात् ४३१.१ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। विद्युत् आपूर्ति सहज बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मातहतका संयन्त्र परिचालन गरी तत्कालका लागि वैकल्पिक ऊर्जाको जोहो गर्न निर्देशन दिएका छन्।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण गर्दैछ। 

मन्त्रालयकाअनुसार त्रिशुली स्थित २२० के.भी. ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छ। विद्युत् आपूर्ति प्रणालीमा परेको चाप र प्राविधिक अवस्थाको प्रत्यक्ष जानकारी लिन मन्त्री श्रेष्ठले आज स्युचाटारस्थित प्रेषण केन्द्र लोड डिस्प्याच सेन्टरको निरीक्षण गर्दैछन्।

यसबाहेक ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सवस्टेशन र सञ्चालनको प्रयास गरिरहेको छ। गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भइरहेको छ। 

अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई सुचारु राख्न विद्युत प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ। यसैगरी आवश्यक परेमा भिमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ।

भदौ ११, २०८३ बिहीबार ११:१०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।