भोटेकोशी बाढी प्रभावितलाई आइएफआरसीको करिब १९ करोड सहयोग, थप सहायता गर्न तयार

भोटेकोशी बाढी प्रभावितलाई आइएफआरसीको करिब १९ करोड सहयोग, थप सहायता गर्न तयार

काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका प्रभावितलाई सहयोग गर्न तत्काल १२ लाख अमेरिकी डलर (करिब १८ करोड ९६ लाख रुपैयाँ) प्रदान गर्ने भएको छ।

तिब्बतबाट आएको बाढीले पुर्याएको क्षतिको सम्बोधन गर्दै प्रभावितहरूको खोज, उद्धार र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो।

आइएफआरसीका महासचिव जगन चापागाईंले बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता पुर्याउन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यो आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन्।

हाल रेडक्रसका आपत्कालीन स्वयंसेवक टोलीहरू प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार र प्रारम्भिक राहत वितरणमा सक्रिय रूपमा जुटिसकेका छन्।

महासचिव चापागाईंले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै विपद्को घडीमा मानवीय सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘नेपाल रेडक्रस र सरकारी निकायहरूसँगको समन्वयमा आवश्यकताअनुसार प्रभावित समुदायलाई थप सहयोग परिचालन गर्न आइएफआरसी पूर्ण रूपमा तयार छ।’

बाढीका कारण धेरैको ज्यान गएको, कैयौँ मानिस बेपत्ता भएको र ठूलो भौतिक क्षति भएको घटनाप्रति महासचिव चापागाईंले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस कठिन समयमा पीडित र प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

भदौ ११, २०८३ बिहीबार ०८:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।