त्रिशूली र नारायणीमा ६४ शव भेटिए, अस्पतालको शवगृह भरियो
चितवन : चीनको तिब्बतबाट भोटेकोशी हुँदै आएको बाढीले बगाएका ६४ वटा शव त्रिशूली र नारायणी नदी किनारमा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार भेटिएकामध्ये केही शव सग्ला छन् भने केही शरीरका अङ्ग (टुक्रिएका भाग) मात्रै फेला परेका छन्।
अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायले नदी किनारमा बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
फेला परेका शवहरूलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। तर, धेरै शव जम्मा भएकाले अस्पतालको शवगृह भरिएको छ।
एसपी पौडेलका अनुसार राख्ने ठाउँ अभावकै कारण तनहुँमा भेटिएर चितवन ल्याइएका ९ वटा शवलाई पुनः तनहुँ नै फिर्ता पठाइएको छ।
अस्पतालमा ठाउँ नभएपछि, अब थप शव फेला परेमा वैकल्पिक व्यवस्थापनका लागि औद्योगिक प्रतिष्ठानको भवन/स्थान प्रयोग गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
भदौ ११, २०८३ बिहीबार ०७:१८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।