रसुवा बाढीको मुख्य कारण हिमपहिरो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : बुधबार बिहान रसुवामा आएको भीषण बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ।
भोटेकोशी र त्रिशूली नदीमा लेदो र ठूल्ठूला ढुङ्गासहित आएको शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङमा गम्भीर असर पारेको छ। तल्लो तटीय क्षेत्रमा अझै जोखिम रहेकाले विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका वैज्ञानिकहरूको प्रारम्भिक अनुसन्धानअनुसार, उच्च हिमाली क्षेत्रमा हिउँ र चट्टानसहितको ठूलो पहिरो खसेका कारण यो बाढी आएको अनुमान छ।
भोटेकोशीको सहायक नदी ‘ल्हेन्दे खोला’मा खसेको उक्त पहिरोले अचानक नदीको बहाव तीव्र बनाएको थियो।
बाढी आउनुअघि प्रभावित क्षेत्रनजिकै रहेका भूकम्प मापन केन्द्रहरूमा अस्वाभाविक सङ्केत (कम्पन) समेत रेकर्ड भएका थिए, जसलाई वैज्ञानिकहरूले हिमपहिरोसँग जोडेर अध्ययन गरिरहेका छन्।
आधा घण्टामै ९ मिटर बढ्यो पानीको सतह
बाढीको गति र परिमाण अत्यन्तै अस्वाभाविक थियो। गल्छीमा त्रिशूली नदीको सतह मात्र ३० मिनेटमा ९ मिटरसम्म बढेको थियो भने मलेखुमा ७ मिटरले बढेको थियो।
बाढीले त्रिशूली किनारका धेरैजसो पानी मापन केन्द्र बगाउनुका साथै भोटेकोशी किनारका जलविद्युत् आयोजनालगायतका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
फेरि बाढी आउन सक्ने खतरा
विज्ञहरूले माथिल्लो तटीय क्षेत्रमा पहिरोले नदी थुनिएर अस्थायी ताल बनेको हुन सक्ने र त्यो फुटेमा फेरि अर्को भयानक बाढी आउन सक्ने चेतावनी दिएका छन्।
इसिमोडका जलवायु जोखिम प्रमुख स्याङ्गोङ झाङका अनुसार नेपाल-चीन सीमाको माथिल्लो क्षेत्रमा अझै अवरोध (नदी थुनिएको अवस्था) रहेकाले चिनियाँ अधिकारीहरूले जिलुङ बन्दरगाह (केरुङ नाका) सुरक्षित स्थानमा सार्न आदेश दिइसकेका छन्।
विपद् व्यवस्थापनमा सीमापार सहकार्य आवश्यक
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी र हिउँको अवस्था द्रुत गतिमा परिवर्तन भइरहेको छ।
इसिमोडका हिमनदी विशेषज्ञ मोहम्मद फारुक आजमले यस्ता विपद्को जोखिम बढिरहेकाले नेपाल र चीन दुवै देशका सरकारबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको औँल्याएका छन्।
यसैबीच, इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले यस विपद्प्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र प्रभावित नागरिकप्रति समवेदना र सहयोगको प्रतिबद्धता जनाएका छन्।
यद्यपि, वैज्ञानिकहरूले यो विपद् सीधै जलवायु परिवर्तनकै कारण हो वा होइन भनी निष्कर्ष निकाल्न हतार हुने बताएका छन्। हाल इसिमोडले दुवै देशका सरकार र वैज्ञानिकसँग मिलेर यस घटनाको निरन्तर अध्ययन गरिरहेको छ।
भदौ ११, २०८३ बिहीबार ०७:१०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।