आज देशभर पानी पर्ने, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

आज देशभर पानी पर्ने, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज धेरैजसो स्थानमा मौसम बदली भई पानी पर्ने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानकै आसपासमा रहेको छ।

अहिले बिहान देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी र सुदूरपश्चिमका तराईमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, तराईका धेरैजसो भूभागमा पनि पानी पर्ने अनुमान छ।

विशेषगरी कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनीका पहाडी र तराईका एक-दुई ठाउँमा दिउँसो भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो पहाडी ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भारी वर्षा हुनसक्ने बुलेटिनमा उल्लेख छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

खराब मौसमका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात र पर्यटनमा समेत प्रभाव पर्न सक्ने भएकाले सुरक्षित रहन र मौसमको ताजा जानकारी लिइरहन अनुरोध गरिएको छ।

भदौ ११, २०८३ बिहीबार ०७:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।