गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालयका सर्भेक्षक साहविरुद्ध मुद्दा
काठमाडौं : नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत मुद्दा दायर गर्यो।
साहले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४६ वैशाख १६ देखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा तीन करोड ७१ लाख बढी रकम गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनायो।
अख्तियारका अनुसार वैध आय छ करोड तीन लाख देखिएकोमा सोही अवधिमा साहको कुल खर्च तथा लगानी नौ करोड ७५ लाख देखिन्छ। उनको कुल आय र व्ययबीच देखिएको तीन करोड ७१ लाख स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको ठहर छ।
अख्तियारले अवैध रूपमा आर्जन गरेको सम्पत्ति साहकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएपछि उनलाई पनि प्रतिवादी बनायो। सुमिन्त्राको नाममा खरिद गरिएका तथा हाल कायम रहेका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सर्भेक्षक साहविरुद्ध तीन करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी अख्तियारले कैद जरिवानाको मागदाबी गरेको छ। साथै, वास्तविक सम्पत्ति लुकाएको अभियोगमा थप सजायको समेत माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
भदौ ९, २०८३ मंगलबार १६:०९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।