मास्टर्नी : झुक्क्याएर दर्शकलाई 'म्याथ' सिकाउन खोज्दा थचक्कै
यो समीक्षामा लेखिने घटनाक्रम, पात्र र उनीहरूको चरित्र चित्रण, द्वन्द्व, कथाको सेन्ट्रल पोइन्ट अनि टर्निङ पोइन्ट शुक्रवारबाट नेपालका हलमा लागिरहेको फिल्म मास्टर्नीको हो। मलयालम फिल्म दृष्यम हेरिसकेको तर मास्टर्नी हेर्न बाँकी रहेको दर्शकलाई फिल्म त उस्तै उस्तै लागे त्यो संयोग मात्र हुनेछ। किनकि, मास्टर्नीमा अजय देवगण छैनन्, प्रियङ्का कार्की छिन्।
परिवारको सुरक्षाका लागि एउटा साधारण मानिसले कानुन र प्रहरी प्रशासनसँग खेल्ने खेल, अनि त्यो खेलमा हुने ब्ल्याकमेलिङको घटना, दुर्घटनावश हुने मृत्यु र लास लुकाउन अपनाइने रहस्य। फिल्म दृष्यम्...ए झुक्किएछु...फिल्म मास्टर्नीको मुख्य कथावस्तु यसै वरपर घुमेको छ।
एक साधारण/मध्यमवर्गीय परिवारका सदस्यलाई शक्तिशाली व्यक्तिको परिवारको सदस्यले आपत्तिजनक भिडियो वा अन्य कुराले ब्ल्याकमेल गर्न खोज्नु र त्यसबाट निम्तने दुर्घटनाबाट जोगिन हुने संघर्ष नै फिल्मको मुख्य द्वन्द्व।
ब्ल्याकमेलिङ रोक्ने क्रममा अथवा आत्मरक्षाको क्रममा दुर्घटनावश शक्तिशाली व्यक्तिको सन्तानको मृत्यु हुनु यसको टर्निङ पोइन्ट। दुर्घटना वश भए पनि अपराध त अपराधै हो। अब परिवारको सदस्य जोगाउन त्यो अपराधलाई कसरी लुकाउने र राज्यको शक्तिशाली संयन्त्रसँग कसरी जोगिने यो फिल्मको सेन्ट्रल आइडिया।
यही द्वन्द्व, टर्निङ पोइन्ट अनि सेन्ट्रल आइडियामा अभिनेत्री प्रियङ्काले क्राइम थ्रिलर फिल्म मास्टर्नी बनाएको देखियो।
अब लागौँ कथासार तर्फ
एक सामान्य केवल अपरेटर...हैन है। यसमा त ब्राइट फ्युचर स्कुलको एक साइन्स शिक्षिका छिन् तुलसी क्षेत्री (प्रियङ्का कार्की)। उनी अब्बल शिक्षिका। पाल्पाको एक विद्यालयमा काम गर्नेक्रममा स्कुलका अध्यक्ष अनि आम स्वतन्त्र पार्टीका नेता हुन् महेश कुमार शर्मा (प्रमोद अग्रहरी)। यी दुबैबीच त्यति कुरा मिल्दैन।
उनी ब्राइट फ्युचर स्कुलमा पढाउन थाल्दा महेश सांसद भइसकेका हुन्छन्। स्कुलको वार्षिक उत्सवको समयमा स्कुलका प्रमुख अतिथिका रूपमा आएका महेश र तुलसीबीच पुरानै शैलीमा ठाकठुक पर्छ।
तुलसीको छोरी अंकिता क्षेत्री (सिम्रन खड्का) र महेश कुमारको छोरी सिसी (रक्षा थापा) नाइट क्लबमा भेटिन्छन्। उनीहरू एक दिनमा निकट हुन्छन्। सिसी लेस्बियन हुन्छिन्। अर्थात् उनलाई केटाप्रति हैन केटीप्रति नै आकर्षण जाग्छ। एक क्याफेमा उनले अंकितालाई चुम्बन गर्न खोज्दा मित्रतामा चिसोपन बढ्छ।
सिसीको स्वभाव अलि फुक्काफाल। यहीबारे बुबा महेश कुमार र आमा (ऋचा शर्मा)बिच घर झगडा भइरहन्छ। बुवासँग विवाद भएपछि घर छाडेर उनी अंकिता क्षेत्रीको घरमा पुग्छिन्, माफी माग्छिन्। सिसीसँग बाहिर जान अंकिता जब लुगा बदल्न जान्छिन् उनले लुकेर भिडियो खिच्छिन्।
अनि सुरु हुन्छ ब्ल्याकमेल। सोही विषयमा विवाद हुँदा सिसीको मृत्यु हुन्छ। नेताको छोरीको शव अब कसरी लुकाउने, हत्याबाट कसरी जोगिने? छोरी अंकितालाई तुलसीले जोगाउन सक्छिन्? फिल्म अगाडि बढ्ने यही प्रश्नको उत्तरमै हो।
बलियो पक्ष
अन्य देशमा क्राइम थ्रिलर सफल र लोकप्रिय विधाको रूपमा स्थापित भए पनि नेपालमा भने यो विधा निकै कमजोर छ। क्याफे र लाउन्जमा सुनिने हलिउड अनि बलिउडका क्राइम थ्रिलरको चर्चाले नेपालमा यो विधाका दर्शक टन्न रहेको देखाउँछ नै।
तर ती दर्शकलाई हलसम्म ल्याउन भने कमै निर्देशक र कलाकार सफल भएका छन्। यो विधामा प्रस्ट चुनौती भए पनि फिल्म बनाउने आँट गर्नु निर्मात्रीको रूपमा प्रियङ्काको सबैभन्दा ठूलो सबल पक्ष हो।
क्राइम जनरामा बनेको अभिमन्यु बाहेकको क्राइम थ्रिलरको सबैभन्दा कमजोर पक्ष नै कथ्य शैली बन्ने गरेको थियो। मास्टर्नी फिल्मको कथ्य शैलीमा भारतीय निर्देशक सुभेन्दु घोषले आफ्नो सिप राम्रैसँग देखाएका छन्।
क्राइम थ्रिलर फिल्मको सबैभन्दा महत्वपूर्ण पक्ष अन्तिमसम्म सस्पेन्स कायम राख्नु हो। बिचैमा सस्पेन्स खुल्यो भने क्राइम जनरा त भन्न मिल्ला तर थ्रिलर र सस्पेन्स त हुन्न। त्यसमा पनि घोष सफल नै देखिए। मोन्टाज र फिल्ममा अपनाइएको क्यामरा वर्क पनि फिल्मको बलियो पक्ष हो।
एक्लै सिनेमा धान्ने क्षमता रहेका कलाकारहरूको भिड छ फिल्ममा। तर उचित कास्टिङको कमीले सिसीको चरित्रमा रहेकी रक्षा थापा बाहेक अन्यको अभिनय दर्शकको नजर अडिन सकेको अनुभव हुन्न।
कमजोर पक्ष
यो फिल्मको पहिलो हाफ चरित्र स्थापित गर्ने चक्करमा फितलो बनेको अनुभव हुन्छ। क्राइम थ्रिलर जनरामा अपनाइने टेक्निकहरू निकै कमजोर अनुभव हुन्छ। दोस्रो हाफमा पुग्दा भने यो पक्ष केही सबल बनेको अनुभव हुन्छ। संवाद यो फिल्मको सबैभन्दा ठूलो कमजोरी देखिन्छ।
फिल्ममा प्रमोद अग्रहरी र ऋचा शर्माको जोडी नै अनमेल देखिन्छ। के नमिलेको, के नमिलेको अनुभव भइरहन्छ उनीहरू पर्दामा देखिँदा। प्रियङ्काको अभिनय पात्र भन्दा अलि लाउड देखिन्छ। उनी पटकथा अनुसारको चरित्रमा बस्न सकेको अनुभव हुन्न।
प्रियङ्कासहित सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, रक्षा थापा,सरोज खनाल,जितु नेपाल, , अनुपविक्रम शाही, लगायतको अभिनय हलको सिटबाट उठे लगत्तै मानसपटलबाट ओझेलमा पर्छ। ब्याकग्राउण्ड म्युजिक,स्कोर, कलर ग्रेडिङले फिल्मको जनरामा न्याय गर्न सकेको अनुभव हुन्न।
अन्त्यमा,
शिक्षिकाको भूमिकामा निर्मात्रीसमेत रहेको प्रियङ्का भए पनि शिक्षा विधामा यो फिल्मको कुनै साइनो देखिन्न। मास्टरमाइन्डलाई नेपालीकरण गरेर मास्टर्नी राखेको अनुमानसम्म गर्न सकिन्छ। अनि फिल्मको विधा नै नबोक्ने नाम र शिक्षण विधासँगै जोडेर प्रमोशनल गीत 'म्याथ सिक्ने' सार्वजनिक गर्नुको उद्देश्य विवाद निकालेर फिल्मको हाइप बढाउने नियत भन्दा अर्को कारण देखिएन। त्यसैले यो दर्शकको मनमा चस्स घोचिरहने पक्ष बन्यो।
यो फिल्मको मुख्य समस्या ‘दृश्यम’ को सेन्ट्रल आइडिया, द्वन्द्व र टर्निङ पोइन्टलाई दुरुस्तै टिपेर मौलिक कथाको आवरण दिनु हो। क्राइम थ्रिलर जस्तो संवेदनशील विधामा कथाको यो हदसम्मको सिर्जनात्मक दरिद्रताले दर्शकलाई हलसम्म त तान्न सक्छ, तर सन्तुष्ट पार्न सक्दैन।
केबल अपरेटरलाई विज्ञान शिक्षकमा रूपान्तरण गरेर कथा बदल्दैमा मौलिकताको दाबी गर्नु दर्शकमाथिको ठाडो धोका हो।
‘दृश्यम’ बाट प्रभावित हुनु आफैंमा अपराध होइन, तर त्यसलाई आफ्नो मौलिक सृजना भन्दै प्रचार गर्नु र कमजोर पटकथाले यसको हाइपलाई टेको लगाउने असफल प्रयास गर्नुले नेपाली फिल्ममेकिङको परजीवी प्रवृत्तिलाई नै उदाङ्गो पारेको छ। 'दृश्यम' को बलियो छायाँबाट मुक्त हुन नसक्दाको परिणाम आज हलको अकुपेन्सीले देखाइरहेकै छ।
भदौ ८, २०८३ सोमबार १८:०७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।