यशको फिल्म ‘टक्सिक’को इभेन्टमा दुर्घटना हुँदा केही दर्शक घाइते

यशको फिल्म ‘टक्सिक’को इभेन्टमा दुर्घटना हुँदा केही दर्शक घाइते

एजेन्सी : दक्षिण भारतीय अभिनेता यशको फिल्म ‘टक्सिक’को प्रचार-प्रसारका लागि शनिबार हैदरावादमा आयोजित ‘प्रि-रिलिज इभेन्ट’मा स्पिकर स्ट्यान्ड ढल्दा केही दर्शकहरू घाइते भएका छन्।

मेडचल-मल्काजगिरी जिल्लास्थित मल्ला रेड्डी ग्रुप अफ इन्स्टिच्युसनमा आयोजित उक्त कार्यक्रममा यश र फिल्मको निर्माण टोलीलाई हेर्न ठूलो सङ्ख्यामा दर्शकहरू भेला भएका थिए। 

साइबराबाद प्रहरीका अनुसार, कार्यक्रम स्थलमा राखिएको ‘फ्लाइङ डीजे’ स्पिकर स्ट्यान्डको सन्तुलन बिग्रिएर दुर्घटना भएको हो। अभिनेता यशलाई नजिकबाट हेर्नका लागि केही दर्शकहरू स्पिकर झुन्ड्याइएको अग्लो स्ट्यान्डमा चढेका थिए।

केही व्यक्तिले सोही स्ट्यान्डमा स्टन्टसमेत गरेका थिए। सोही क्रममा स्ट्यान्ड अचानक भुईँमा खसेको थियो। दुर्घटनामा उचाइबाट खसेका घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो।

घाइतेहरूको सङ्ख्या र स्वास्थ्य अवस्थाबारे अस्पताल र स्थानीय प्रशासनले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ। फिल्म ‘टक्सिक’को प्रतीक्षा गरिरहेका दर्शकहरूको अत्यधिक भिडका कारण केही बेर कार्यक्रम अस्तव्यस्त बनेको थियो। 

भदौ ७, २०८३ आइतबार १३:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।