सत्ताको जोडघटाउले कम्युनिस्ट आन्दोलन कमजोर भएको प्रचण्डको स्वीकारोक्ति
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरू रणनीतिक लक्ष्यभन्दा सत्ताको जोडघटाउमा केन्द्रित हुँदा आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विगतमा सत्ता समीकरणमा मात्रै अल्झिँदा आन्दोलन कमजोर भएको स्वीकार गरे। प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टीले दीर्घकालीन रणनीतिलाई नजरअन्दाज गरेको बताए।
"जनयुद्धमा रहँदा निरङ्कुशताको अन्त्य र जनजीविकाका लागि सङ्घर्ष गर्ने स्पष्ट रणनीति थियो," उनको भनाइ थियो, "तर पछिल्लो समय सत्ता समीकरण बनाउने र भत्काउने कार्यनीतिलाई नै रणनीति ठान्दा हामी चक्करमा फस्यौं।"
आफूहरू सरकार गठन र परिवर्तनको खेलमा लाग्दा विरोधी शक्तिहरू भने कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने रणनीतिक योजनामा लागेको उनको दाबी छ। गत भदौ २४ गतेको घटनालाई उनले सोही विनाशकारी योजनाको अभिव्यक्तिका रूपमा चित्रण गरे।
प्रचण्डले नेपाल अहिले सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको उल्लेख गरे। वैदेशिक हस्तक्षेप र आन्तरिक कमजोरीका कारण उत्पन्न यस असाधारण संकटको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता अपरिहार्य रहेको उनको तर्क थियो।
अबको सहकार्य केवल सरकारमा जानका लागि मात्र हुन नहुने उनको भनाइ छ। "सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा हामी रक्षात्मक भयौं," उनले भने, "अब उत्पीडित वर्ग, जाति र श्रमजीवी जनताको मुद्दामा आधारित भएर नयाँ आन्दोलनको सृष्टि गर्नुपर्छ।"
एमाले लगायतका दलहरूसँग भएका सहकार्य र एकताको अनुभवबाट शिक्षा लिँदै कमीकमजोरी नदोहोरिने गरी अगाडि बढ्न सबै वामपन्थी शक्तिहरूलाई उनले आह्वान समेत गरे।
भदौ ७, २०८३ आइतबार १६:३५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।