'प्रेम गीत'पछि फेरि जोडियो सुदर्शन-प्रदीपको जोडी
काठमाडौं : सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘प्रेम गीत’ले अभिनेता प्रदीप खड्कालाई नेपाली फिल्म उद्योगमा स्थापित गर्यो। तर, रोचक कुरा के छ भने त्यसपछि निर्देशक थापा र अभिनेता खड्काबीच लामो समय सहकार्य भएन।
फिल्म प्रेम गीतपछि उनीहरुबीच सुमधुर सम्बन्ध नरहेको चर्चा फिल्मी जगतमा हुने गर्थ्यो। तर, अन्ततः उनीहरुबीच फेरि सहकार्य हुँदैछ। निर्देशक थापाको निर्देशनमा अभिनेता खड्का फिल्म ‘शुभ विवाह’मा देखिँदै छन्।
लामो समयको अन्तरालपछि उनीहरुबीच भएको यो पुनर्मिलनलाई लिएर फिल्म क्षेत्रमा चासोका साथ हेरिएको छ। आइतबार पर्यटकीय सहर पोखराबाट फिल्मको छायांकन सुरु गरिएको छ। ४५ दिनको छायांकन तालिका तय गरिएको फिल्मका लागि कलाकार र प्राविधिकको टोली अहिले पोखरामै छ।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा प्रदीपको जोडीका रूपमा अभिनेत्री सनिशा भट्टराईले अभिनय गर्दैछन्। फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारी, कृष्ण ढुङ्गाना लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्म ‘शुभ विवाह’को कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने सुप्रिया कटुवाल निर्माता र साम भुजेल कार्यकारी निर्माता रहेको छन्।
भदौ ७, २०८३ आइतबार १५:०४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।