सत्ताबाट बाहिरिएपछि मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

सत्ताबाट बाहिरिएपछि मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न आइतबार ह्विप जारी गर्यो। तत्कालीन सत्ता साझेदार एमालेले नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै सरकार गठन गर्ने निर्णय गरेसँगै बागमती प्रदेशमा कांग्रेस प्रदेशसभा दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार ढलेको थियो। 

नेपाली कम्युनिस्ट पार्टीसँग केन्द्रमा भएको सहमति अनुरूप बागमती प्रदेशमा एमालेका थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनले सोमबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन्। एमाले साथ छोडेपछि प्रतिपक्षमा पुगेको कांग्रेसले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको हो। 

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना सदस्यलाई सोहीअनुसार मतदान गर्न ह्विप जारी गरियो। 

भदौ ७, २०८३ आइतबार १४:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।