डेढ वर्षदेखि अज्ञात व्यक्तिको निरन्तर फोनले समीक्षा अधिकारीलाई हैरानी
काठमाडौं : गायिका समीक्षा अधिकारीले विगत डेढ वर्षदेखि एक अज्ञात व्यक्तिले फरक-फरक नम्बरबाट आफूलाई निरन्तर फोन गरेर हैरान पारेको बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत अधिकारीले करिब डेढ वर्षदेखि ५०० भन्दा बढी फरक-फरक नम्बरबाट अनावश्यक फोन गरेर हैरान पारेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “फोन उठाउँदा 'म रमेश शाही' भन्नुहुन्छ, तर 'के कामले फोन गर्नुभएको?' भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न। एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ।”
एउटा नम्बर ब्लक गरेपछि रमेश शाही नाम बताउने ती व्यक्तिले फेरि अर्को नयाँ नम्बरबाट फोन गर्ने क्रम नरोकिँदा यो विषय सार्वजनिक गर्न आफू बाध्य भएको उनले उल्लेख गरेकी छन्।
“डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक-फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला,” अधिकारीले भनेकी छन्, “अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनुभएको छ। एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन।”
उनले आफ्नो मोबाइल नम्बर विना सोचविचार अरूलाई उपलब्ध नगराउन आग्रह गरेकी छन्। कसैले आफ्नो नम्बर मागेमा एक पटक उद्देश्य बुझेर मात्र दिन उनको अनुरोध छ।
अधिकारीले लेखेकी छन्, “यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ। सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनुहोला।”
भदौ ६, २०८३ शनिबार १८:४३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।