नाबालिग बलात्कार र हत्या प्रकरणमा प्रहरीमाथि प्रश्न : घटनास्थल २ सय मिटरमा, ५४ घण्टा ३० मिनेट कता खोज्यो?

नाबालिग बलात्कार र हत्या प्रकरणमा प्रहरीमाथि प्रश्न : घटनास्थल २ सय मिटरमा, ५४ घण्टा ३० मिनेट कता खोज्यो?

काठमाडौं : बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कार र हत्या घटना सार्वजनिक भएसँगै अहिले देशका विभिन्न स्थानमा घटनामा संलग्नमाथि कार्वाहीको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ। यसैलाई देखाउँदै गृहमन्त्री सुधन गुरुङदेखि प्रहरीसम्म आफूहरू अनुसन्धानमा गम्भीर रहेको दाबी गरिरहेका छन्।

तर बालिका हराएदेखि गन्हाएको अवस्थामा शव बरामद भएको समयसम्मको समय तालिका हेर्दा प्रारम्भिक समयमा स्थानीय प्रहरीको लापरबाहीमाथि भने गम्भीर प्रश्न देखिन्छ।

सार्वजनिक भएको समय तालिकामै बालिका हराएकोबारे प्रहरीले जानकारी पाएको ५४ घण्टा ३० मिनेटपछि मात्र बालिकाको शव बरामद भएको देखिन्छ। शव प्रहरीले बरामद गरेको हैन, खाली घरबाट केही गन्हाएको स्थानीयको सूचनाको आधारमा घटनास्थलमा पुग्दा शव हराइरहेकी बालिकाको रहेको खुलेको हो।

उकेराले प्राप्त गरेको समय तालिका हेर्ने हो भने बालिका हराएकोबारे प्रहरीले सूचना पाएको दिन र समयदेखि शव बरामद भएको दिनसम्म २ दिन ६ घण्टा लागेको देखिन्छ। अर्थात् ५४ घण्टा ३० मिनेट। यसले स्वाभाविक रूपमा प्रश्न उब्जाएको छ, यति समयसम्म प्रहरी के गरेर बसेको थियो।

यस्तो छ समय तालिका

प्रहरी प्रधान कार्यालय उल्लेख गरेर नेपाल न्युज बैंकले राखेको समय तालिका अनुसार साउन ३१, बिहान ८:३० बजे ३ वर्षीया बालिका हराउँछिन्। परिवारले पहिला यताउता खोज्छन्। खोज्दा पनि नभेटेपछि बल्ल उनीहरूले सोही दिन बिहान ११:१५ मा जिल्ला प्रहरी कार्यालय बारामा खोजतलासका लागि निवेदन दिन्छन्।

निवेदन हराएकी बालिकाकी आमाले दिएकी थिइन्। प्रहरीले दाबी गरे अनुसार बालिका हराएको दिन हुलिया परिपत्र, सिमरा, जितपुर, एयरपोर्ट र जंगल क्षेत्रमा खोजी र वरपरको सिसिटिभी फुटेज जाँच्ने काम भयो। तर बालिका फेला परिनन्।

बालिका हराएको दोस्रो दिन भदौ १ गते औराहा, परवानीपुर, नितनपुर र छातापिपरा लगायतका स्थानमा सर्च अपरेसन चलाएको प्रहरीको दाबी छ। तर त्यो दिन बालिकाबारे केही जानकारी खुलेको देखिएन।

तेस्रो दिन भदौ २ गते साँझ ५:४५ मा जितपुरसिमरा-१ को खाली घरभित्रबाट शंकास्पद गन्ध आएको भन्दै स्थानीयले जानकारी गराए। त्यसपछि प्रहरी प्रमुख र एसपीसहितको टोली घटनास्थलमा पुग्यो। त्यही भेटियो बालिकाको शव। 

प्रहरीले सोही दिन राति १० बजे घटनामा संलग्न रहेको शंकामा २ जनालाई नियन्त्रणमा लियो। भदौ ३ मा  उनीहरूलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गर्यो।

प्रहरीको प्रारम्भिक अनुसन्धान विवरणमा जितपुर सिमरा वडा नं. २ बस्ने १६ वर्षीय सुमन थापा ( सहचालक) ले बालिकालाई चकलेटको प्रलोभनमा पारेर खाली रहेको घरमा लगेर बलात्कार गरेर हत्या गरेको उल्लेख छ।

अर्का शंकास्पद म्युजिक चालक, २४ वर्षीय प्रोगेश चौधरीलाई शंकास्पद भनिएको छ। तर घटनामा उनको संलग्नता के हो भन्ने विस्तृत खुलाइएको छैन। 

प्रहरीले चासो नदिएको आरोप

प्रहरीले घटनाबारे जानकारी पाए लगत्तै तीव्र रूपमा खोजेको दाबी गरिरहेको छ। तर पीडित परिवारको दाबी अनुसार प्रारम्भमा प्रहरीले सामान्य घटना जसरी वास्ता गरेन।

सार्वजनिक भएका तथ्य अनुसार ती बालिका आमासँग बस्दै आएकी थिइन्। उनको बुबा मजदुरीका लागि भारत जाने गर्थे। बालिका हराएपछि पहिला आमाले खोजी गरिन्। तर फेला नपरेपछि उनले इलाका प्रहरी कार्यालय सिमरामा जानकारी गराइन्।

प्रहरीले बालिका हराए लगत्तै निकै जोडबल लगाएर खोजी गरेको दाबी गरे पनि तेस्रो दिन बालिकाको घरबाट करिब २ सय मिटर पर सुनसान ठाउँमा रहेको खाली घरमा बालिकाको शव फेला पर्यो।

बालिका हराएको दुई सय मिटरमा रहेको घरसम्म पनि प्रहरीको सर्च टिम नपुग्नुले खोजी अभियान कुन रफ्तार र कसरी चलेको रहेको भन्ने देखायो नै।

पक्राउ परेका मुख्य आरोपी बालिकाको घरमा आइरहने भएकाले परिवारको पहिलो शंका उनमै गयो। परिवारका सदस्यले प्रहरीलाई त्यही जानकारी दियो। प्रहरीले घटनास्थलमा लगिएको कुकुरले समेत सोही युवातर्फ संकेत गरेपछि पक्राउ गरेको दाबी गरेको छ।

प्रहरीले ती युवाले बालिकालाई चकलेट दिएर फकाएर सुनसान घरमा लगेर घटना घटाएको दाबी गरेको छ। यसमा चालकको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन।

बालिका हराए लगत्तै खोजीमा प्रहरीले लापरबाही गरेको आरोपमा विरोध प्रदर्शन सुरु भएपछि प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख र उपप्रमुखलाई केन्द्रमा तानेको छ।

भदौ ६, २०८३ शनिबार २२:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।