महाधिवेशनको तालिका आएपछि दबाबमा देउवा पक्ष, चुनदेवीमा पुगे शेखर
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा अघिल्लो फैसला पुनरावलोकन गर्ने सर्वोच्च अदालतको निर्णयबाट हौसिएको पूर्व सभापति शेरबहादुर देउवा पक्ष पार्टीको १५ औँ महाधिवेशनको तालिका सार्वजनिक भएसँगै दबाबमा परेको छ।
पार्टी संस्थापन पक्षमाथि एकताको लागि दबाब सिर्जना गर्ने उद्देश्यसहित केही दिन अघि राष्ट्रिय भेला सम्पन्न गरेको देउवा पक्ष पार्टीले महाधिवेशनको कार्यतालिका अघि बढाएपछि थप दबाबमा परेको छ। अघिल्लो फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि यो पक्षले पार्टीको महाधिवेशनका गतिविधि रोक्न सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको रूपमा सम्बोधन गरेर पत्र पठाएको थियो।
तर, संस्थापन पक्षले महाधिवेशनका गतिविधि नरोकेपछि संस्थापन इतर पक्ष पुनः महाधिवेशन रोक्न माग गर्दै अदालत जाने तयारीमा छ। पार्टीमा बढ्दो यही दबाबका बीच संस्थापन इतर पक्षका दुई नेता देउवा र डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। देउवा बस्दै आएका चुनदेवीस्थित निवासमा भएको भेटमा कांग्रेसभित्र देखिएको विवाद र पार्टी एकताका विषयमा छलफल भएको थियो।
कोइरालाका स्वकीय दिनेश थपलियाका अनुसार दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित थियो। देउवा पक्षले साउन अन्तिममा राष्ट्रिय भेला गरेर विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अस्वीकार गरेको थियो। गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका थिए। उनी नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले पनि मान्यता दिएको थियो। तर अहिले उक्त फैसलालाई पुनरावेदन गर्ने निर्णय गरिसकेको छ।
भदौ ५, २०८३ शुक्रबार १५:०१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।