बालिका हत्याविरुद्ध माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

बालिका हत्याविरुद्ध माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

काठमाडौं : बलात्कारपछि बालिकाको हत्या गरिएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

स्वतन्त्र आमा नेपालको आह्वानमा तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हो। 

प्रदर्शनमा सहभागीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए। खोटाङकी निरीक्षा खनालले बालिकाको न्यायका लागि आफूहरू सडकमा आएको बताइन्। उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन्।

"तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भयो। उनको न्यायका लागि र आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवाज उठाउन हामी विरोध प्रदर्शनमा आएका हौं," उनले भनिन्, "बलात्कारीलाई कडा सजाय हुनुपर्छ। अब हाम्रो आवाज बन्द हुँदैन। कानुन निर्माण तथा संशोधन नभएसम्म सरकारसमक्ष हाम्रो आवाज पुर्याइरहन्छौं।"

त्यस्तै, अर्की प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन्। "बलात्कारीलाई कडा सजाय हुनुपर्छ। यो कुरा सरकारले सुन्नै पर्छ। सबैका घरमा छोराछोरी छन्। यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ," उनले भनिन्।

अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन्। "महिलामाथि असाध्यै अन्याय भइरहेको छ। माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन। सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ," उनले भनिन्, "यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन।"

बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाही गर्नुपर्ने माग उनीहरूको छ। 

भदौ ५, २०८३ शुक्रबार १४:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।