रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्मका एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्मका एजेन्डा

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ।

बैठकमा मुख्यगरी आगामी स्थानीय तह निर्वाचनको तयारी, साङ्गठनिक विस्तार र पदपूर्तिका विषयमा छलफल हुने पार्टीले जनाएको छ।

बैठकमा आगामी स्थानीय तह निर्वाचन (२०८३) का लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्ने, चुनाव जितेका जनप्रतिनिधिले राम्रो काम नगरे फिर्ता बोलाउन सक्ने व्यवस्था ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने एजेन्डा तय भएका छन्।

यस्तै रिक्त रहेका केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने। साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने, केन्द्रीय सदस्य र सांसद (प्रतिनिधिसभा सदस्य) हरूको नेतृत्वमा स्थानीय तह लक्षित उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण सञ्चालन गर्ने तालिका पनि सूचीमा समावेश छ।

यसका अलावा पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा आवश्यक निर्णय लिने विषय पनि बैठकको एजेन्डा छ।

भदौ ५, २०८३ शुक्रबार ०८:५७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।