काभ्रेमा साउन महिनाको प्रहरी रिपोर्ट : ७४ मुद्दा दर्ता, ७६ जना पक्राउ

काभ्रेमा साउन महिनाको प्रहरी रिपोर्ट : ७४ मुद्दा दर्ता, ७६ जना पक्राउ

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा गत साउन महिनामा मात्रै ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार यस अवधिमा विभिन्न अपराधमा संलग्न ७६ जनालाई पक्राउ गरिएको छ।

प्रहरीको मासिक प्रगति विवरणअनुसार, दर्ता भएका ७४ वटा मुद्दामध्ये ४१ वटाको किनारा लागिसकेको छ भने बाँकीको अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार, काभ्रेमा पछिल्लो समय आर्थिक अपराध बढ्दै गएको छ। साउनमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै (१८ वटा) बैंकिङ कसुरकै छन्।

यसबाहेक चोरीका १२ वटा (साधारण, मोटरसाइकल र चौपाया चोरी) मुद्दा दर्ता भएका छन्। साथै, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुविवाह, बोक्सीको आरोप र जबर्जस्ती करणीजस्ता गम्भीर प्रकृतिका घटना पनि दर्ता भएका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका २० जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।

राजस्व सङ्कलन र अवैध मदिरा नष्ट
साउन महिनामा अदालतको फैसला कार्यान्वयन गर्दै प्रहरीले २९ लाख ६९ हजार ९ सय रुपैयाँ जरिवाना असुल गरेको छ भने १ वर्ष ४ महिना १५ दिनको कैद सजाय कार्यान्वयन गराएको छ।

ट्राफिक नियम मिच्ने ६५९ वटा सवारीसाधनलाई कारबाही गर्दा ६ लाख १ हजार ५ सय रुपैयाँ र नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने टिपरहरूबाट ३ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यसैगरी, प्रहरीले जिल्लाभरिका १०७ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ। यस क्रममा १ हजार ३९८ लिटर अवैध मदिरा र ३ हजार ३५ लिटर कच्चा पदार्थ जफत गरिएको छ।

सचेतना अभियान र सुरक्षामा कडाइ
समाजमा अपराध घटाउन प्रहरीले 'समुदाय–प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध चलाइएको यो अभियानबाट करिब २० हजार (१९,९१३) नागरिकलाई सचेत गराइएको डीएसपी विष्टले जानकारी दिनुभयो। नागरिकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले गस्ती, छड्के जाँच (सरप्राइज चेकिङ) र प्रविधिको प्रयोगलाई थप कडा बनाएको छ।

भदौ ५, २०८३ शुक्रबार ०७:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।