बागमतीमा राप्रपा पनि सरकारमा, ६ मन्त्रीसहित मुख्यमन्त्री थापाले लिए शपथ

बागमतीमा राप्रपा पनि सरकारमा, ६ मन्त्रीसहित मुख्यमन्त्री थापाले लिए शपथ

मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालय हेटौँडाको परिसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख देवकोटाले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम थापालाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

थापाले आजै एमाले, नेकपा र राप्रपाका तर्फबाट गरी अन्य ६ मन्त्रीलाई नियुक्त गरे। नवनियुक्त मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाए। एमालेबाट भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङले बिना विभागीय मन्त्रीको जिम्मेवारी पाए।

यस्तै नेकपाका सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालय, राप्रपाका राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाए।

नेपाली कांग्रेसबाट प्रदेश सरकारको नेतृत्व गरेको इन्द्रबहादुर बानियाँ अल्पमतमा पर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यलाई बहुमत सङ्ख्या पुर्याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबारसम्मका लागि समय दिएका थिए। 

सोहीअनुसार एमालेका प्रदेशसभा सदस्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। पछिल्लो समय बागमतीमा आठ मन्त्रालय कायम गरिएको छ। यस अनुसार सरकारलाई पूर्णता दिन अझै बाँकी छ। 

एमालेका तामाङ विना विभागीय मन्त्रीका रूपमा शपथ खुवाइएका तामाङलाई पनि केही दिनमा मन्त्रालयको टुङ्गो लगाइने मुख्यमन्त्री थापाले बताए। 

भदौ ४, २०८३ बिहीबार २१:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।