बालिका हत्या प्रकरणमा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै सिमरामा उग्र प्रदर्शन, डीएसपीमाथि कारबाहीको माग
रौतहट : बलात्कारपछि हत्या भएकी बालिकाको खोजीकार्यमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै बाराको जीतपुर सिमराका स्थानीयवासीले बिहीबार इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै वीरगञ्ज-पथलैया राजमार्ग ठप्प पारेका छन्।
तीन वर्षीया बालिका साउन ३१ गतेदेखि बेपत्ता हुँदा परिवारले तत्काल लिखित जानकारी गराए पनि प्रहरीले खोजीकार्यमा तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।
बुधबार बालिकाको शव फेला परेपछि बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका स्थानीयहरूले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीमाथि कारबाहीको माग गरे।
प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप
स्थानीयवासी र पीडित परिवारका अनुसार बालिका हराएको बारेमा उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा लिखित जाहेरी दिएका थिए। बालिका साउन ३१ गते बिहानदेखि हराएकी थिइन्।
तर, प्रहरीले सुरुवाती चरणमा खोजीकार्यलाई तीव्रता नदिएको र अनुसन्धानमा चासो नदेखाएका कारण बालिकाको ज्यान गएको स्थानीयको निष्कर्ष छ। समयमै प्रहरी सक्रिय भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने दाबी गर्दै प्रदर्शनकारीहरूले डीएसपी क्षेत्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखे।
मुख्य राजमार्ग र ग्रामीण सडकहरू पूर्ण रूपमा बन्द
बालिकाको शव फेला परेपछि बुधबार दिउँसोदेखि अवरुद्ध बनेको वीरगञ्ज-पथलैया सडकखण्ड बिहीबार पनि सञ्चालन हुन सकेको छैन। आन्दोलनरत स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिकाका विभिन्न ग्रामीण सडकहरूमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
आन्दोलनका कारण सिमरा-डुमरवाना, पिलुवा-वडहर्वा, सिमरा-जीतपुर तथा पथलैया-सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडक अवरोधका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न नसक्दा लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने स्थानीय जनजीवन कष्टकर बनेको छ।
शैक्षिक संस्थाहरूद्वारा शोकसभा र विद्यालय बन्द
जघन्य अपराधको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोकसभा आयोजना गरी शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द गरेका छन्।
विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अबोध बालिकामाथि भएको क्रूर घटनाले सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध र मर्माहत भएको जनाएका छन्।
उनीहरूले घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।
दुई जना आरोपी पक्राउ, प्रशासन भन्छ: ‘छानबिन हुँदैछ’
बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले बालिका हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेको जानकारी दिएका छन्। प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरी पक्राउ गरिसकेको छ।
घटनापछि स्थानीय स्तरबाट उठाइएका प्रहरीको लापरबाहीका बारेमा जिल्ला प्रशासन कार्यालयले गम्भीरतापूर्वक ध्यान दिएको प्रजिअ मिश्रले बताए। उनले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिएका छन्।
आन्दोलन जारी राख्ने चेतावनी
प्रशासनले दोषी पक्राउ परेको बताए पनि स्थानीयवासी भने शान्त भएका छैनन्। आन्दोलनरत पक्षले घटनाको पूर्ण रूपमा निष्पक्ष अनुसन्धान हुनुपर्ने, घटनामा लापरबाही गर्ने जिम्मेवार प्रहरी अधिकारीहरूमाथि कडा कारबाही हुनुपर्ने र आगामी दिनमा बालबालिकाको सुरक्षाको भरपर्दो सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन्। सिमरा क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ।
भदौ ४, २०८३ बिहीबार १८:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।