सचिन तेन्दुलकरभन्दा पनि उत्कृष्ट थिए विराट कोहली : एबी डिभिलियर्स

सचिन तेन्दुलकरभन्दा पनि उत्कृष्ट थिए विराट कोहली : एबी डिभिलियर्स

एजेन्सी : दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर तथा उत्कृष्ट ब्याटर एबी डिभिलियर्सले विदेशमा टेस्ट क्रिकेट खेल्ने क्रममा भारतीय क्रिकेटर सचिन तेन्दुलकरभन्दा पनि  विराट कोहली उत्कृष्ट रहेको दाबी गरेका छन्। 

उनका पूर्व रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) का टिममेट विराट कोहलीले विदेशी भूमिमा भारतका उत्कृष्ट टेस्ट ब्याटरको रूपमा आफूलाई स्थापित मात्र नगरेर नयाँ उचाइ दिएको दाबी गरे। 

डिभिलियर्सका अनुसार तेन्दुलकरले उपमहाद्वीपका ब्याटरहरूले स्विङ र बाउन्सी पिचमा पनि सफलता पाउन सक्छन् भन्ने विश्वास दिलाएको, तर, कोहलीले त्यस विश्वासलाई अझ माथिल्लो स्तरमा पुर्याउँदै नयाँ मानक स्थापित गरे।

गल्लेमा बुधबार भारतले श्रीलंकामाथि १६५ रनको जित निकालेपछि डिभिलियर्सले आफ्नो युट्युब च्यानलमार्फत यस्तो धारणा राखेका हुन्।

“म सचिन तेन्दुलकरजस्ता खेलाडीलाई सम्झन्छु, जसले भारतका लागि त्यो ट्रेन्डको सुरुवात गरेका थिए। तर उनी विराट कोहलीजत्तिकै बलिया भने थिएनन्, विराट अझै उत्कृष्ट थिए। यद्यपि, उपमहाद्वीपका ब्याटरले बाउन्सी र सिमिङ हुने परिस्थितिमा पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने देखाउने पहिलो व्यक्ति सचिन नै थिए। विराटले त्यसलाई अगाडि बढाउँदै स्तर नै माथि उठाए ” डिभिलियर्सले भने।

तथ्याङ्कमा तेन्दुलकर अगाडि

सन् २०१३ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका तेन्दुलकरले २०० टेस्टमा १५ हजार ९२१ रन बनाएका छन्। उनी टेस्ट क्रिकेटको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी हुन्। यस्तै, मे २०२५ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका कोहलीले १२३ टेस्टमा ९ हजार २३० रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीको १९ औँ स्थानमा छन्। 

सचिनले आफ्नो टेस्ट करियरमा बनाएको कुल रनमध्ये करिब ५५ प्रतिशत अर्थात् ८ हजार ७०५ रन घरेलु मैदानबाहिर बनाएका थिए। उनी टेस्ट क्रिकेटमा विदेशी भूमिमा सर्वाधिक रन बनाउने ब्याटरसमेत हुन्। कोहलीले भने भारतबाहिर खेलेका ६६ टेस्टमा ४ हजार ७७४ रन बनाएका छन्।

दक्षिण अफ्रिका, इङ्गल्याण्ड, न्यूजील्याण्ड र अष्ट्रेलियामा तेन्दुलकरले ६३ टेस्टमा ५१.३० को औसतले ५ हजार ३८७ रन बनाएका छन्, जसमा १७ शतक र २३ अर्धशतक समावेश छन्। कोहलीले भने ४६ टेस्टमा ४२.०८ को औसतले ३ हजार ६६१ रन बनाए, जसमा १२ शतक र १४ अर्धशतक छन्।

तथ्याङ्कले तेन्दुलकरलाई माथि देखाए पनि  डिभिलियर्सको मूल्याङ्कन कोहलीले भारतीय टेस्ट टोलीमा ल्याएको व्यापक प्रभावमा आधारित देखिन्छ। विशेषगरी विदेशमा भारतको सफल टेस्ट यात्राका क्रममा कोहलीको नेतृत्व र प्रभावले त्यसपछिको पुस्ताका लागि प्रदर्शनको मापदण्ड अझ माथि उठाएको उनको भनाइ छ।

नयाँ पुस्तामा प्रभाव र केएल राहुललाई सुझाव

डिभिलियर्सका अनुसार सचिन र कोहलीको प्रभाव अहिलेको भारतीय ब्याटिङ पुस्तामा पनि देखिएको छ। डिभिलियर्सले तेन्दुलकर र कोहलीको प्रभावकै कारण केएल राहुल र देवदत्त पाडिक्कलजस्ता भारतीय ब्याटरहरूले विदेशी भूमिमा आफ्नो प्रदर्शन सुधार गर्न थालेको बताए।

तर, डिभिलियर्सले केएल राहुलको विदेशमा प्रदर्शनमा अझ सुधारको आवश्यकता रहेको पनि बताए। उनका अनुसार राहुलसँग बलियो र सन्तुलित ब्याटिङ टेक्निक भए पनि विदेशमा उनको औसत केवल ३४ रनको छ।

"केएल राहुल बलियो टेक्निक भएका र भारतीय टोलीका ठूला सम्पत्ति हुन्। तर विदेशमा उनको औसत ३४ मात्र छ, त्यसैले उनीबाट अझ बढी अपेक्षा गरिन्छ। उनी क्रिजमा टिकिसकेपछि १०० मात्र होइन, १८० सम्मको ठूलो स्कोर बनाउनुपर्छ, किनकि पहिलो बलमै शून्यमा आउट हुने वा नयाँ बलमा विकेट गुमाउने जोखिम सधैँ रहन्छ। उनका लागि खेलको मुख्य उद्देश्य नै ठूलो स्कोरलाई अझ ठूलो बनाउनु हो," डिभिलियर्सले थपे।

भदौ ४, २०८३ बिहीबार १४:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।