प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा नजान अख्तियारका पदाधिकारीलाई रास्वपा सांसद सिंहको सुझाव

प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा नजान अख्तियारका पदाधिकारीलाई रास्वपा सांसद सिंहको सुझाव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए।

उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे। 

उनले भने, "अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन। त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।"

उनले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए। संवैधानिक निकायहरूमा पूर्व कर्मचारीहरूको बाहुल्य रहेको भन्दै उनले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिए।

उनले भने, "भागबन्डाको राजनीति अन्त्य गरौं र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।"

सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए। उनले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए।

भदौ ४, २०८३ बिहीबार १४:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।