संवैधानिक राजसंस्था र सनातन धर्मको एजेन्डासहित ‘जय नेपाल पार्टी’को वैचारिक मार्गचित्र सार्वजनिक
काठमाडौं : सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई मूल आधारस्तम्भ बनाउँदै डा. धवलशम्शेर राणा नेतृत्वको ‘जय नेपाल पार्टी’ (जनेपा) औपचारिक रूपमा घोषणा भएको छ।
निर्वाचन आयोगमा विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सभापति डा. राणाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै पार्टीको वैचारिक मार्गचित्र सार्वजनिक गरेका हुन्।
बैठकमा कार्यपत्र प्रस्तुत गर्दै सभापति राणाले राजनीतिमा सेवाभाव र नैतिकता स्खलित हुँदा राष्ट्रियता र सामाजिक सद्भावमा खलल पुगेको बताउँदै नयाँ विकल्पका रूपमा पार्टीको जन्म भएको दाबी गरे।
जय नेपाल पार्टीले हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्दै देशमा स्थिरता र समुन्नति ल्याउन ‘त्रिकोण’ को वैचारिक अवधारणा अघि सारेको छ।
नेपाललाई हिन्दु, बौद्ध र किरातसहितको ‘सनातन अधिराज्य’का रूपमा पुनःस्थापना गर्ने, राष्ट्रिय एकता र देश रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने तथा बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र सुशासनमार्फत आर्थिक समुन्नति हासिल गर्ने पार्टीको मूल लक्ष्य छ।
मुख्य नीति तथा प्रतिबद्धताहरू
सभापति राणाले प्रस्तुत गरेको १२ बुँदे प्राथमिकतामा ‘नेपाल फर्स्ट’को मान्यतालाई राष्ट्रिय गौरवको आधारशिला मानिएको छ।
कार्यपत्रमा जल, जमिन, जङ्गल, जडीबुटी, कृषि र पर्यटनको विकास गर्दै उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्र निर्माण गर्ने, दण्डहीनता, विभेद र भ्रष्टाचारको अन्त्य गर्दै डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्र प्रवर्द्धन गर्ने अवधारणा लिइएको छ।
त्यसैगरी गुणस्तरीय निःशुल्क शिक्षा, स्वास्थ्य र सीप विकासमार्फत युवालाई स्वदेशमै रोजगारीका अवसर दिलाउने, राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्र नीतिमा आधारित सम्मानित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने अनि प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै जलवायु उत्तरदायी विकास नीति अवलम्बन गर्ने पार्टीको नीति छ।
पार्टीले अब देशका ७७ वटै जिल्लाका साथै प्रदेश र स्थानीय तहमा द्रुत गतिमा संगठन निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।
सभापति डा. राणाले संवैधानिक राजसंस्था र सनातन धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना चाहने र सुशासनका पक्षधर सबै नागरिकलाई पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन्।
साथै, आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई पार्टीमा आबद्ध भएर तयारीमा जुट्न समेत उनले अपिल गरेका छन्।
भदौ ४, २०८३ बिहीबार १४:०८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।