बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको सांसद सुनारको आरोप, भने- ‘मानमर्दन भएको लागे अदालत जानू’​​​​​​​

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको सांसद सुनारको आरोप, भने- ‘मानमर्दन भएको लागे अदालत जानू’​​​​​​​

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको प्रधान कार्यालय निश्चित बिचौलियाहरूको कब्जामा रहेको गम्भीर आरोप लगाएका छन्।

संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले प्रहरी नेतृत्व र खरिद प्रक्रियामाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन्।

प्रहरीको स्रोत-साधन खरिदमा भएको भनिएको अनियमितताबारे १५ दिनभित्र कागजात माग गर्दा पनि नआएको तर त्यसैबीच फेरि करोडौंको नयाँ टेन्डर आह्वान गरिएको भन्दै उनले आपत्ति जनाए।

आफूले उठाएका प्रश्नमा अडिग रहेको बताउँदै सुनारले भने, ‘कहीँ कतै कसैलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुस्- कठघरामा उभिएर जवाफ दिन म तयार छु। तर, सार्वभौम संसदीय समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न र सरकारको मानमर्दन गर्न पाइँदैन।’

सांसद सुनारले केही गैरसरकारी संस्था (एनजीओ)ले जातीय द्वन्द्व र साम्प्रदायिकता भड्काउने काम गरिरहेको आरोप लगाए।

‘दलितलाई अगाडि देखाएर, विदेशी पैसा ल्याएर सामाजिक सद्भाव भड्काउने र देश ध्वस्त पार्ने काम भइरहेको छ,’ उनले भने, ‘जात र धर्मका नाममा समाज भाँड्ने काम तत्काल रोकिनुपर्छ।’

उनले दलित र गरिबका नाममा राज्य तथा वैदेशिक सहायताबाट आउने बजेट लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिए। गरिब र दलितका नाममा बजेट फ्रिज गराउने तथा बिचौलियाले चलखेल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको माग थियो।

वैदेशिक सहायतामा निर्मित भौतिक पूर्वाधारको प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिए।

‘अन्तर्राष्ट्रिय सहायतामा बन्ने तर जहाज नउड्ने विमानस्थल र गाडी नगुड्ने बसपार्क बनाएर राज्यलाई ऋणको भारी मात्रै बोकाउन सकिँदैन’, उनले भने।

भदौ ४, २०८३ बिहीबार १३:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।