बारामा तीन वर्षीया बालिकाको हत्यापछि आक्रोशित स्थानीयद्वारा राजमार्ग ठप्प
बारा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्।
दोषीलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै स्थानीयले बिहीबार बिहानैदेखि त्रिभुवन राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्।
प्रहरीले बालिकाको बलात्कार तथा हत्यामा संलग्न रहेको आरोपमा एक म्याजिक भ्यानका चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।
पक्राउ पर्नेहरूमा जीतपुर सिमरा-२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।
चकलेटको प्रलोभन देखाएर अपराध
जीतपुर सिमरा-१ दसधुरीकी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा गत साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्।
खोजीका क्रममा भदौ २ गते स्थानीय वीरबहादुर रोकाको खाली एकतले घरभित्र बालिकाको शव फेला परेको थियो।
इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा र मधेश प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरसहितको विशेष टोलीले अनुसन्धान अघि बढाएको थियो।
प्रारम्भिक अनुसन्धानबाट सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई एकान्तमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
चार दिनको म्याद थप
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी उनीहरूमाथि हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।
यस जघन्य अपराधको विरोधमा स्थानीय बासिन्दा सडकमा उत्रिएपछि जीतपुरसिमरा क्षेत्र तनावग्रस्त बनेको छ भने यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
संसद्मा गृहमन्त्रीको ध्यानाकर्षण
यस घटनाको विरोधमा प्रतिनिधिसभा बैठकमा समेत आवाज उठेको छ।
बाराका सांसद रहबर अन्सारीले संसद्मा बोल्दै शान्ति सुरक्षाको अवस्था कमजोर भएको र प्रहरीको लापरबाहीका कारण यस्तो घटना घटेको आरोप लगाए।
उनले सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा सजाय दिन सरकारसँग माग गरे।
भदौ ४, २०८३ बिहीबार ११:०४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।