रुसमा बसेर हुण्डीको साम्राज्य चलाउने भाइ-बुहारी फरारको सूचीमा, नेपालमा २ अर्बको सेटलमेन्ट गर्ने दाजु पक्राउ

रुसमा बसेर हुण्डीको साम्राज्य चलाउने भाइ-बुहारी फरारको सूचीमा, नेपालमा २ अर्बको सेटलमेन्ट गर्ने दाजु पक्राउ

काठमाडौं : रुसलाई केन्द्र बनाएर नेपालमा झण्डै २ अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार र विदेशी मुद्राको अपचलन गरेको अभियोगमा एकै परिवारका तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा १ अर्ब ९८ करोड ९७ लाखभन्दा बढी बिगो दाबी गर्दै धादिङ मूल घर भई हाल काठमाडौंको नागार्जुन बस्ने रिजाल परिवारका तीन सदस्यविरुद्ध अभियोगपत्र दायर गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलले धादिङ सत्यदेवी-८ घर भई हाल नागार्जुन नगरपालिका-१ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल, हाल रुसमा रहेका उनका भाइ ४७ वर्षीय सुमन रिजाल र रुसमै रहेकी सुमन रिजालकी श्रीमती ४४ वर्षीया पबिता उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ।

कसरी हुन्थ्यो झण्डै २ अर्बको अवैध कारोबार ?
अभियोगपत्रका अनुसार सुमन रिजाल र उनकी श्रीमती पबिता उपाध्याय लामो समयदेखि रुसमा बस्दै आएका थिए। उनीहरूले रुस, युरोप, युएई र भारतमा रहेका नेपालीहरूबाट विदेशी मुद्रा संकलन गर्थे। तर, उक्त रकम बैंकिङ प्रणाली मार्फत नेपाल नपठाई अवैध हुण्डीको बाटो अपनाउँथे।

विदेशमा संकलित विदेशी मुद्रा उताकै खातामा राख्ने वा अन्यत्र लगानी गर्ने र नेपालमा रहेका आफन्तलाई दिनुपर्ने रकम भने नेपालमै रहेका राजेन्द्र प्रसाद रिजाल (सुमनका दाइ) मार्फत वितरण गर्ने गरिएको थियो।

अनुसन्धानबाट खुलेअनुसार सुमन र पबिताले रुसबाटै नेपालका विभिन्न बैंकमा रहेका आफ्ना र आफन्तका खाताहरू ‘कनेक्ट आईपीएस’, मोबाइल बैंकिङ र अन्य डिजिटल वालेटमार्फत सञ्चालन गर्थे।

नेपालमा रहेका राजेन्द्र प्रसाद रिजालले विभिन्न अपरिचित व्यक्तिहरूबाट नगद बुझ्ने र ती रकम सुमन र पबिताको खातामा जम्मा गरिदिने गर्थे। त्यसपछि रुसबाटै उक्त रकम नेपालका सम्बन्धित व्यक्तिहरूको खातामा ट्रान्सफर भई सेटलमेन्ट गरिन्थ्यो।

व्यापारको आवरणमा हुण्डी, भारतीय एजेन्टसँग पनि कनेक्सन
प्रतिवादीहरूले अवैध कारोबारलाई लुकाउन ‘हर्मिटेज ट्राभल्स प्रालि’, ‘आर.एस.एस. किचन सप्लायर्स’ तथा रुसमा ‘पारी मोडा’, ‘अनिरोध ट्रेडिङ’ जस्ता व्यापारिक फर्महरूको नाम प्रयोग गरेको देखिएको छ।

डिजिटल फरेन्सिक ल्याबको रिपोर्टअनुसार राजेन्द्र प्रसाद रिजालको मोबाइलबाट भारतीय हुण्डी एजेन्टहरूसँगको ह्वाट्सएप कुराकानी र कारोबारका प्रमाण फेला परेका छन्।

उनीहरूले भारतको अहमदाबादका व्यापारीलाई भुक्तानी गर्न भारतीय रुपैयाँका नोटका नम्बरहरू (जस्तै: Rs 10 notno 06D 169047) लाई ‘पासवर्ड’ वा ‘कोड’का रूपमा प्रयोग गरी नगद आदानप्रदान गर्ने गरेको प्रमाण प्रहरीले अदालतमा पेश गरेको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार सुमन र पबिताको नाममा नेपालका सानिमा बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंकलगायत झण्डै एक दर्जन बैंकमा खाताहरू खोलिएका थिए।

एउटै ‘कनेक्ट आईपीएस’ युजर आईडीबाट हजारौं पटक रकम ट्रान्सफर भएको देखिएको छ। सुमन रिजालको एउटै युजर आईडीबाट ३ हजार ९ सय ७७ वटा ट्रान्सफरमार्फत ७७ करोड भन्दा बढी र पबिता उपाध्यायको खाताबाट १२ करोड भन्दा बढी रकम ट्रान्सफर भएको बैंकिङ लग फेला परेको छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट जम्मा रु. १ अर्ब ९८ करोड ९७ लाख ४० हजार ३२८ रुपैयाँ १९ पैसा बिगो कायम गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) विपरितको कसुर गरेको भन्दै ऐनको दफा ९६ बमोजिम प्रतिवादीहरूबाट झण्डै २ अर्ब बिगो जफत हुनुपर्ने, बिगोको तीन गुणासम्म जरिवाना र सात वर्षसम्म कैद सजायको माग गरिएको छ।

प्रतिवादीहरूको विभिन्न बैंक खातामा रोक्का रहेको १ करोड २९ लाख ५ हजार ४२५ रुपैयाँ र मुद्दती खातामा रहेको २ करोड ६२ लाख ५४ हजार रुपैयाँ कसुरबाटै आर्जन गरेको भन्दै जफत गर्न माग गरिएको छ।

यसका साथै, फरार रहेका सुमन रिजाल र पबिता उपाध्यायलाई पक्राउ पुर्जी जारी गरी कानुनबमोजिम कारबाही अघि बढाउन अदालतसमक्ष माग गरिएको छ।

भदौ ६, २०८३ शनिबार ११:२१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।