EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती
काठमाडौं : नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।
२०६६ बाट नेपालमा अवैध कल बाइपासका घटना बढेपछि २०६७ बाट दूरसञ्चार सेवा प्रदायकहरूसँगको समन्वयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘भोइस फक्स’ नाम राखेर विशेष अप्रेसन चलाएको थियो।
तत्कालीन समयमा बंगलादेशमा सेनाले नै कल बाइपासमा सक्रिय संगठित गिरोहविरुद्ध विशेष अप्रेसन चलाएपछि गिरोहका सदस्यहरू भागेर नेपाल भित्रिएको र उनीहरूले उतैको प्रविधि भित्र्याएर नेपालबाट धन्दा चलाएको सूचनाको आधारमा सिआइबीले सुरु गरेको विशेष अप्रेशनकोक्रममा कुमार व्यञ्जनकार २०६७ पुस ११ मा कुपन्डोलबाट पक्राउ परेको उकेराको खोजमा प्रमाण फेला परेको हो।
त्यो बेलामा उनी चेरी वर्ल्ड कम्युनिकेसनको मेनेजिङ डिरेक्टर थिए। प्रहरीले २०६७ पुस ११ मा बालुवाटार, लाजिम्पाट, जोरपाटीको टुसाल र महाराजगन्जमा शृङ्खलाबद्ध छापा मार्दा उनी पनि समातिएका थिए।
छापा मार्नेक्रममा पहिला मोजाम मोहम्मद, मोहम्मद सोराबुजामान र मोहम्मद सालेह अहमद नामका बंगलादेशी नागरिक पक्राउ परेका थिए।
यो गिरोहबाट प्रहरीले अवैध कल बाइपासका लागि ४ हजार ५ सय २८ वटा एनसेलको सिम, ५ सय १३ वटा नेपाल टेलिकमको सिमसहित बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरू बरामद गरेको थियो।
अनुसन्धानमा गिरोहले अवैध कल बाइपास गराएर एक सिमबाट एक महिनामा चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको खुलेपछि प्रहरीले उनीहरुविरुद्ध ८२ करोडको मागदावी लिइएको थियो। त्यसैको एक आरोपी थिए व्यञ्जनकार।
यही समूहको अनुसन्धानकोक्रममा उनीहरूलाई इन्टरनेट सुविधा उपलब्ध गराउने कम्पनीहरू समेत जोडिए। अनुसन्धानमा अवैध रूपमा कल बाइपासका लागि बाहिरबाट आएको कल दूरसञ्चारको औपचारिक नेटवर्क छलेर प्रयोगकर्ताको सिममा पठाउनका लागि कल टर्मिनेटर उपकरण, युपिएस, कम्प्युटर वा ल्यापटप, सिम रिचार्ज कार्ड आवश्यक पर्छ नै।
सामान्यतया घरमा प्रयोग गर्नका लागि न्यून गतिको इन्टरनेट सुविधा भए पनि पुग्छ। तर यस्ता उपकरणमा राखिएका धेरै सिमहरूबाट एकै पटक कलहरू फरवार्ड गरेर कलबाइपास गराउन उच्च गतिको इन्टरनेट आवश्यक पर्छ जुन प्राय कर्पोरेट सुविधाको रूपमा कार्यालयहरूले मात्र लिने गर्थे।
अनुसन्धानकोक्रममा कल बाइपासमा संलग्न गिरोह रहेको घरमा इन्टरनेट सेवा प्रदायकहरूले सामान्य स्पिडको नभई २४ घन्टै चल्ने उच्च गतिको इन्टरनेटको सुविधा दिएको खुलेको थियो।
अनुसन्धानमा इन्टरनेट सेवा प्रदायकहरूले मल्टी राउटर्स ट्राफिक ग्राफको आधारमा उपभोक्ताले इन्टरनेट कुन प्रयोजनमा प्रयोग गरिरहेका छन् भन्ने जानकारी पाएको, यस्ता गिरोहका लागि उच्च गतिको इन्टरनेटको सुविधा दिँदा अन्यको तुलनामा दोब्बरसम्म शुल्क लिएको खुलेपछि सिआइबीले सञ्चालक र यसमा संलग्न हुनसक्ने कर्मचारीहरूलाई समेत पक्राउ गरेको थियो।
यो प्रकरणमा इन्टरनेट सेवा प्रदायकहरू सहित १२ जना नेपाली जोडिएका थिए। त्यही १२ मध्ये कुमार व्यञ्जनकारसमेत एक थिए।
अनुसन्धानकोक्रममा पाँचवटा आइएसपीले कल बाइपासमा संलग्न गिरोहका लागि प्रक्रिया मिचेर उच्चगतीको इन्टरनेट सुविधा दिएको लगायतको संलग्नता देखिएको भन्दै प्रहरीले ती कम्पनीमा संलग्न ६ जना सञ्चालकहरूलाई पक्राउ गरेको थियो।
त्यो बेलामा व्यञ्जनकार (बेन) चेरी वर्ल्ड कम्युनिकेसनको मेनेजिङ डिरेक्टरका रूपमा संलग्न थिए। प्रहरीले उनलाई अवैध कल बाइपासका लागि बंगलादेशी गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरेकोबारे उनको छिमेकीहरू समेत जानकार देखिए।
प्रहरीले त्यो बेलामा उनीसँगै निलेश रत्न स्थापितलाई समेत पक्राउ गरेको थियो। अर्का राजाराम पन्थीलाई समेत प्रहरीले अवैध कल बाइपासका लागि बंगलादेशी गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेको थियो।
जताततै रेकर्ड ‘गायब’
त्यो बेलामा सिआइबी भर्खर स्थापना भएकाले अपराध अनुसन्धान गरे पनि मुद्दा प्रक्रियाको अनुसन्धानका लागि कानुनी अधिकार पाएको थिएन। सिआइबीको कार्यालय प्रहरी प्रधान कार्यालयमा थियो। कानुनी अधिकार नभएकाले अप्रेसन र अनुसन्धान सिआइबीले गरे पनि मुद्दा प्रक्रिया भने हनुमानढोकामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंबाट हुन्थ्यो।
व्यञ्जनकार अवैध कल बाइपासमा पक्राउ परेको पक्का भएपछि उकेराले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी परिसर काठमाडौं अनि काठमाडौं जिल्ला अदालत सबैतिर विवरणहरू खोज्यो। ब्युरोमा पक्राउ परेका तीन बंगलादेशीको नाम, माग भएको बिगो रकमको विवरण फेला पार्यो।
सिआइबीको विवरणमा ३ विदेशी र १२ जना नेपाली फरार भनेर उल्लेख थियो। उकेराले सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठसँग तत्कालीन समयमा फरार उल्लेख गरिएका १२ नेपाली पक्राउ परे या परेनन् र उनीहरूको नाम के थियो भन्ने विवरण उपलब्ध गराउन आग्रह गर्यौँ। तर उनले फरार सूची दिन मिल्दैन भने।
काठमाडौं परिसरमा अनौपचारिक माध्यमबाट यसबारे खोजी गर्दा तत्कालीन समयमा परिसरको कार्यालय हनुमानढोकामा रहेको र भूकम्पपछि कार्यालय सर्नेक्रममा पुराना फाइलहरू कता छन् भन्ने यकिन हुन नसकेको जवाफ आयो।
बाँकी रह्यो, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत र महान्यायाधीवक्ताको कार्यालय। उकेराकर्मी यी तीनै निकायमा पुगेर खोजी गर्दा सम्बन्धित अधिकारीबाट यसबारेका सबै कागजपत्रहरू जेनजी आन्दोलनकोक्रममा भएको आगलागीबाट नष्ट भएको, हार्डड्राइभ चोरिएको जवाफ आयो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सोमाकान्ता भण्डारीले जेनजी आन्दोलनताका सबै फाइलहरू जलेर नष्ट भएको बताए।
महान्यायाधिवक्ताको कार्यालयमा पुग्दा पनि विवरण ‘फेला परेन’। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि न्यौपानेले महान्यायाधिवक्ता कार्यालयको हार्डड्राइभसमेत चोरी भएको र आन्तरिक प्रयोजनका लागि एक्ससेलमा रहेको विवरणमा नाम फेला नपरेको बताए।
तर लुकेन पक्राउको विवरण
सम्बन्धित निकायबाट यो प्रकरणमा जोडिएका मिसिलसहितका विवरणहरू फेला नपरेको अनि जलेको दाबी गरे पनि उकेराले घटना दर्ता पुस्तिका फेला पार्यो।
उकेराले फेला पारेको विवरणमा २०६७ पुस ११ मा ९२३, ९२४ देखि ९२५ नम्बरसम्म सिआइबीबाट उपलब्ध भएको बंगलादेशी नागरिकहरू पक्राउको रेकर्ड दर्ता रहेको विवरण फेला पर्यो। त्यसमा व्यञ्जनकारसहित नेपालीहरूको नाम भने भेटिएन।
खोजीकोक्रममा यो प्रकरणमा मर्कन्टाईलका सञ्जीवराज भण्डारी, राजीवराज भण्डारी, चेरी वर्ल्ड व्यञ्जनकारसहित दिनेश रजक, रोशन कार्की र आईप्लसका निलेशरत्न स्थापितसमेत जोडिएको खुल्यो।
सिआइबीबाट प्राप्त सूचीमा राजु पन्थी (राजाराम) को नाम थियो। यसैको आधारमा खोज्दै जाँदा प्रहरीको म्याद थप सम्बन्धी डायरीको विवरणहरू फेला पर्यो। त्यसको ९२३ नम्बरमा ९२३ मा निलेशरत्न स्थापित र राजाराम पन्थीको नाम भेटियो।
९२४ नम्बरमा दुई बंगलादेशी नागरिकसँगै एक नेपाली नागरिकको नाम भेटियो जुन थियो ‘कुमार व्यञ्जनकार’।
व्यञ्जनकारको घर रहेको स्थानको केही छिमेकी, चेरी वर्ल्डबारे जानकार केही व्यक्ति र उनको पृष्ठभूमिबारे जानकारहरूसँगबाट प्राप्त विवरणबाट चेरी वर्ल्डका कुमार व्यञ्जनकार नै अहिले प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार कुमार बेन हुन् भन्ने पर्याप्त तथ्यहरू फेला पार्यो।
उता, म्याद थप सम्बन्धी प्रहरी विवरणमा आरोपीहरू २०६७ पुस ११ गते पक्राउ परेको देखियो। पहिलो पटक उनीहरु विरुद्ध सात दिनको म्याद थप भएको थियो। दोस्रो पटक पाँच दिन, तेस्रो पटक सात र चौथो पटक ६ दिन म्याद थप भएको देखिन्छ।
त्यसपछि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएर तीन बंगलादेशी नागरिक पुर्पक्षका लागि थुनामा गएको देखिन्छ।
त्यही विवरणमा चेरी वर्ल्डका कुमार व्यञ्जनकार र आइप्लसका निलेशरत्न स्थापित हाजिर जमानीमा रिहा भएको उल्लेख छ। तर उनीहरू कहिले हाजिर जमानीमा रिहा भए भन्ने मिति देखिन्न। राजाराम पन्थी भने माघ १० गते धरौटीमा रिहा भएको विवरणमा उल्लेख छ।
प्रहरीले देखेको प्रमाण सरकारी वकिलले देखेन
उकेराको खोजमा फेला परेका तथ्यहरूले सिआइबीले व्यञ्जनकारसहितका नेपालीहरू कारणसहित पक्राउ गरेको देखिन्छ। यसको मुख्य आधार पक्राउ परेका बंगलादेशीहरु बसेको घरमा विना प्रयोजन जडान भएको उच्च गतिको इन्टरनेट, त्यसका आधारमा इन्टरनेट सेवा प्रदायकहरूले उनीहरूसँग मात्र लिएको दोब्बर शुल्क, दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्डअनुसार इन्टरनेट उपभोक्ताले गरेको कामको अनुगमन र निरीक्षणको दायित्वअनुसार इन्टरनेट सेवा प्रदायकहरूको कार्यालयमा रहने प्रयोगकर्ताहरूको अपलोड र डाउनलोडसहितको शंकास्पद प्राविधिक विवरणबारे प्राधिकरणलाई जानकारी नदिएको लगायतका विषय देखियो।
तर यो बिचमा इन्टरनेट सम्बन्धी कारोबार गरेको आधारमा सञ्चालक पक्राउ परेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था विरोधमा उत्रिए। उनीहरूले पक्राउ परेका सञ्चालकहरूलाई छाड्न दबाब बढाउन इन्टरनेट सेवा नै बन्द गर्ने तहसम्मको आन्दोलन गरेका थिए।
यही आधारमा प्रहरीले कुमार व्यञ्जनकारसहितका इन्टरनेट सेवा प्रदायकहरुविरुद्ध समेत दूरसञ्चार ऐन अनुसार अवैध कल बाइपासमा संलग्न रहेको भन्दै प्रतिवादी बनाउन अनुसन्धानको प्रस्तावित राय र सुझाव जिल्ला सरकारी वकिलको कार्यालयमा पठायो।
त्यसमा दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उप दफा ५ अनुसार संलग्न व्यक्ति र आईएसपी सञ्चालकहरूलाई बिगो बमोजिमको जरिवाना र पाँच वर्ष कैद सजायको माग गरिएको थियो।
त्यो बेलामा जिल्ला न्यायधिवक्ता थिए बद्री वली। उनले यो विषय अदालती परीक्षणमै पठाएनन्। उनले मुद्दा नचल्ने निर्णय गर्दै कुमार व्यञ्जनकारसहित इन्टरनेट सेवा प्रदायकका सबै आरोपीलाई उन्मुक्ति दिए।
यस प्रकरणको खोजीकाक्रममा उकेराले तत्कालीन समयमा जिल्ला न्यायाधीवक्ताको कार्यालयमा कार्यरत केही अधिकारीहरूसँग सम्पर्क गरेको थियो। उनीहरू औपचारिक रूपमा बोल्न तयार भएनन्। तर नाम उल्लेख नगर्ने सर्तमा “मुद्दा नचल्ने निर्णयमा आर्थिक प्रभाव” रहेको दाबी गरे।
ती अधिकारीहरूका अनुसार त्यसबेला आरोपी बनेका इन्टरनेट सेवा प्रदायकहरूले मुद्दा प्रक्रिया अगाडि बढ्न नदिन सामूहिक रूपमा कोष नै जम्मा गरेकोसम्म सूचना आएको थियो। उनीहरूका प्रतिनिधि दैनिक जसो जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आउँथे।
“यती नै रकम भनेर भन्न त सकिन्न। तर त्यो बेलामा डेढ करोड रकम जम्मा भएको छ भनियो,” ती अधिकारीले भने “प्रहरीले पठाएको राय सुझावमा पुरै प्राविधिक विश्लेषणसहित कलबाइपासमा कसरी इन्टरनेट दिने कम्पनी संलग्न छन् भन्ने विश्लेषण गरिएको थियो। तर इन्टरनेट सेवा दिएकै आधारमा संलग्न भन्न नसकिने र अभियोग पुष्टि हुने प्रमाण नपुगेको तर्क गरेर मुद्दा चल्न नसक्ने निर्णय भएको थियो।”
यस प्रकरणबारे अनुसन्धान गरिरहेका सिआइबीका तत्कालीन प्रमुख राजेन्द्रसिंह भण्डारीले मिडियाहरूमा त्यही समयमा प्रस्ट रूपमा व्यञ्जनकारसहितको अवैध कलबाइपासमा इन्टरनेट सेवा प्रदायकहरू समेत संलग्न रहेको दाबी गरेका थिए।
“पक्राउ परेका भिओआइपीमा संलग्न व्यक्तिहरूको बयानबाट उनीहरूलाई इन्टरनेट सुविधा दिनेहरूले चल्तीको मूल्यभन्दा तेब्बरसम्म सेवा शुल्क लिने गरेका छन्। एमआरटिजी अनुगमनबाट भिओआइपीमा सक्रिय ग्राहकको पहिचान हुन्छ, तर उनीहरू जानकारी गराउँदैनन्,” ब्यञ्जनकारकारसहितका इन्टरनेट सेवा प्रदायकहरूबारे अनुसन्धान गरिरहेको बेलामा सिआइबीका तत्कालीन प्रमुख राजेन्द्र सिंह भण्डारीले तत्कालीन नागरिक दैनिककर्मी (केपी ढुंगाना) सँग अनुसन्धान जारी रहेको बेलामा भनेका थिए, “उनीहरू संलग्न छैनन् भने किन अनुसन्धानमा सहयोग गर्दैनन्?”
उकेराकर्मीले यस विषयमा कुमार बेनको धारणा लिन सम्पर्क गर्ने प्रयास गरेका थियौँ। उनको मोबाइल नम्बर अफ थियो। उनी ह्वाट्सएपमा अनलाइन देखिएपछि हामीले उनलाई चेरी वर्ल्डमा सम्बन्धदेखि पक्राउसम्मबारे सात प्रश्न पठायौँ। यसबारे उनले कुनै प्रतिक्रिया दिएका छैनन्।
रुबेलले फैलाएको जालो
यो प्रकरणमा दबाब बढाउन इन्टरनेट सेवा प्रदायकहरू मात्रै हैन, तत्कालीन सत्ताको शक्तिशाली कोइराला परिवारका सदस्यसमेत संलग्न देखिएका थिए। ब्यूरोस्रोतका अनुसार नेपालमा यो धन्दा भित्र्याउने मुख्य व्यक्ति बंगलादेशी नागरिक रुवेल चौधरी देखिएका थिए।
कलबाइपासमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूबाट उनीहरूलाई बंगलादेशबाट नेपाल ल्याएर राख्न “रुबेल” नाम गरेका व्यक्ति संलग्न रहेको खुलेको थियो। अनुसन्धानमा रुबेल भनिएका व्यक्ति रुबेल चौधरी रहेको देखिएपछि सिआइबी उनी केन्द्रित अनुसन्धानमा समेत सक्रिय भएको देखियो।
त्यो बेलामा कलबाइपास भएको स्थान पहिचान गर्न समूहगत रूपमा सक्रिय सिम कार्ड नम्बर पहिचान गरेर त्यसको बिटिएस टावरको आधारमा लोकेसन पत्ता लगाइन्थ्यो। तत्कालीन समयमा भर्खर कल लोकेसन हेर्ने प्रविधि आएकाले ठ्याक्कै ठाउँ नदेखाई नजिक क्षेत्र देखाउँथ्यो।
जानकारका अनुसार त्यसको आधारमा व्यक्तिगत निगरानी, व्यक्तिको चहलपहल लगायतका पक्ष हेरिन्थ्यो। प्राय बाहिर ननिस्कने, विदेशी नागरिक अनि उच्च गतिको इन्टरनेट सेवा लिएको व्यक्तिको घर र बाहिरी उपकरणको आधारमा पहिचान गरेर छापा मारिन्थ्यो।
अनुसार यस्तै एक लोकेसन खोज्नेक्रममा सिआइबी टोली मण्डिखाटार नजिक पुगेको थियो। व्यक्तिगत निगरानीका क्रममा शंकास्पद निवास कांग्रेस नेतृ सुजाता कोइरालाको रहेको र रुवेल सोही निवासमा बस्ने गरेको देखियो। तर घरमा छापा हान्ने अनुमति नपाउँदा टोली रित्तै फर्किएको थियो।
तत्कालीन अप्रेसनबारे जानकार एक पूर्व प्रहरी अधिकारीका अनुसार अवैध कलबाइपासमा रुबेलको संलग्नता कुमार व्यञ्जनकार पक्राउ पर्नु अगाडि नै खुलेको थियो। ती अधिकारीका अनुसार तत्कालीन उपत्यका अपराध महाशाखाको टोलीले २०६६ साउन १८ गते चार जना बंगलादेशी नागरिकलाई नेपाली पासपोर्टसहित पक्राउ गरेको थियो। रमजान अलि, महमद सकिल, अहमद फारुक अहमद र सरिफ मध्य फारुक अहमद दर्जनौँ पटक नेपाल हुँदै चीन, भारत, मलेसिया र फिलिपिन्स पुगेको उनको पासपोर्टको विवरणमा देखियो।
२०६६ साउन २७ मा तत्कालीन महानगरीय प्रहरी परिसर हनुमानढोकाको विशेष टोलीले खुमलटारस्थित एक घरमा छापा मार्दा तीनजना बंगलादेशी नागरिकसहित करोडौँ मूल्य बराबरको भीओआईपी कल बाइपास गर्ने सामग्री फेला पारेको थियो।
पक्राउ परेका असेफ फुजमन, निसार अहमद र मुग्धिर हुसैन तीनै जनालाई कुनै व्यक्तिले बंगलादेशबाट कामका लागि नेपाल ल्याएको खुल्यो। पक्राउमध्येका एकले रुबेलको नाम लिएका थिए। त्यो बेलामा उनको सासू सुजाता परराष्ट्रमन्त्री थिइन्। सुजताका बुबा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापति र पूर्व प्रधानमन्त्री। नियन्त्रणमा लिएर अनुसन्धान गर्न पर्याप्त प्रमाण भए पनि तत्कालीन प्रहरी नेतृत्वले हिम्मत गर्न सकेन। उनी यो पक्राउ परेनन्। पछि पूर्व युवराज पारस शाहसँग टाइगर टप्स रिसोर्टमा भएको विवाद र उनको शंकास्पद गतिविधिबारे अनुसन्धान गर्न दबाब बढेपछि उनी नेपाल छाडेर भागे।
“त्यो बेलामा रुबेल सुजाता कोइरालाको ज्वाइँको हैसियतमा नातेदार भिसामा नेपाल बसेका थिए। अनुसन्धानमा उनी हाइ क्लासका ब्रोकर र कल बाइपासका गडफादर देखिए पनि औपचारिक रूपमा अनुसन्धानको दायरामा भने ल्याउन सकिएन।
जेठ १२, २०८३ मंगलबार १६:२२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।