टहरामा डोजर, होल्डिङ सेन्टरमा बिजोग : तातो पानी नपाउँदा दूधे बालकले लिटोसमेत खान पाएनन्

टहरामा डोजर, होल्डिङ सेन्टरमा बिजोग : तातो पानी नपाउँदा दूधे बालकले लिटोसमेत खान पाएनन्

काठमाडौं : २०८३ वैशाख १२ गते बिहान। मदन कामी अनिँदो निद्राबाट बिउँझिँदै गर्दा चारैतर्फ प्रहरीको घेराउमा थिए। उनका आधा सामान बाहिर छरपस्ट थिए भने आधा निकाल्नै बाँकी थियो।

थापाथलीको सुकुम्बासी बस्तीमा प्रहरी छिर्नेबित्तिकै नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि छिरे। अनि धमाधम तार काट्न थाले। मिटर बक्स जम्मा पारेर उनीहरू आफैँले लगे।

विद्युत्‌का तार झ्यापझुप्प काट्ने बेला बस्तीका अन्य तार पनि काटिए। त्यसपछि बस्तीका स्थानीय आफन्तसँग फोन संवाद गर्न सक्ने अवस्थाबाट समेत वञ्चित भए। वैशाख ११ गते शुक्रबार मात्र बस्तीमा सीसीटीभी क्यामेरा राखिएको थियो। त्यहाँ त्यो मात्र चल्ने उनीहरूले जानकारी पाए।

‘हामीले किनेको मिटर बक्स उहाँहरूले उठाउनुभयो। अब घर नै उठाउन आउनुभएकाहरूसँग मिटरका लागि झगडा गर्नुपर्छ भन्ने पनि भएन,’ सरकारले विस्थापित बनाएर कीर्तिपुरको सत्संगस्थित होल्डिङ सेन्टरमा राखिएका उनले उकेरासँग भने, ‘त्यसबेला हामीलाई त केके भयो भयो। बस्तीमा त आतंक नै फैलाइएको थियो नि! सामान पनि सबै निकाल्न दिनुभएन।’

​​​​​​उनी गएको शनिबार साँझदेखि नै होल्डिङ सेन्टरमा छन्। सेन्टरमा बस्दाबस्दै दिक्क लागेर मोबाइल हेरेका उनी ‘प्रहरीले सामान निकाल्न सहयोग गरेको’ भन्ने समाचार पढेर दंग परे।

किनभने, उनको टहराबाट नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले एउटा टेबल उठाएर फोटो खिचेको र पछि लात्ती हानेर टहरा भत्काएको दृश्य उनले बिर्सिसकेका छैनन्।

थापाथलीमा उनको घर मुख्य गेटबाट छिर्नेबित्तिकै आउँथ्यो। बिहीबार समाचार सुनेदेखि नै त्रासमा रहेका उनी बिहानै बन्दुक र लट्ठी बोकेर प्रहरीले घेरेको देख्दा आत्तिन पुगे।

उनीहरूलाई बाहिर निस्कन दिइएन। वर्षायाम सुरु हुन लागेकाले पानी नचुहियोस् भनेर उनले नयाँ जस्ताको छाना हालेका थिए। त्यो निकाल्छु भनेर घरभित्र जान खोज्दा उनलाई बाहिरै रोकियो।

‘प्रहरीहरूलाई निकालिदिनुस् न भन्दा निकालिदिनुभएन। अनि म आफैँ जान्छु भनेर भित्र जान खोज्दा लात्ती नै लात्तीले हानेर त ड्याङराङडुङरुङ भत्काइदिनुभयो नि,’ घटनाको दिन सम्झिँदै उनले भने, ‘अरू पत्रकारलाई त छिर्न दिएको थिएन। उहाँहरूसँगै आउनुभएका पत्रकारले पहिला टेबल हेरेर फोटो खिच्नुभयो। अनि त्यत्तिकै छोडेर जानुभयो। पछि प्रहरी आएर फेरि खाट उचाल्नुभयो। फोटो/भिडियो खिचेर आइज केटा हो आइज भनेर अर्को घर छिर्नुभयो।’

नानीबाबुलाई कार्टुन हेर्नका लागि भनेर किनेको टिभी झिक्न जाँदा त्यही टिभीमाथि प्रहार भएको उनले बताए। दश मिनेट मात्र समय दिएको भए त्यो टिभी नफुट्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘अघिल्लो दिन नै सूचना जारी गरिसकेको थियो, किन ननिकालेको भनेर उहाँहरू कराउनुभयो।’

२२ वर्षदेखिको बास उजाडियो!
मदन आफ्नो परिवारसँग २२ वर्षदेखि यहाँ बस्दै आएका थिए। उनका दुई जना साना नानी छन्। सानो नानी त झन् भर्खर नौ महिनाको मात्र भयो। उनकी श्रीमती सुत्केरी अवस्थाबाट पूर्ण रूपमा तंग्रिएकी छैनन्। बस्तीमा डोजर चलाएदेखि पानी परेको पर्यै छ।

उनले बस्नका लागि कतै कोठा पनि पाएका थिएनन्। आफ्नो सामान बटुल्दै गर्दा सरकारले नाम टिप्दै गरेको उनले थाहा पाए। त्यसपछि साँझदेखि परिवारसहित उनीहरू होल्डिङ सेन्टरमा बसे। सेन्टरमा रातभर लामखुट्टेले टोकेको उनले बताए। त्यहाँ बस्नेहरूले गुनासो गरेपछि भने अहिले उनीहरूलाई झुल, म्याट र टेन्ट दिइएको छ।

उनको ठूलो सन्तान पाँच वर्षको भयो। स्कुल अब कहाँ र कसरी पढाउने भन्ने चिन्ता बढ्दै गएको उनले सुनाए। बिहान नौ बजे बस्तीमा पसेको डोजरले उनको टहरा तहसनहस पार्दासम्म ११ बजिसकेको उनी बताउँछन्। उनी त्यहाँ करिब पाँच आना जग्गामा बस्दै आएका थिए। पाहुना आएमा कोठाको बीचमा पर्दा राख्ने गरेको उनले बताए।

जस्ताकै छाना र भित्तालाई पातलो काठले जोडेका हुनाले एक लात्ती हान्नेबित्तिकै भत्किएको हो कि भन्ने उनी अनुमान लगाइरहेका थिए।

प्रहरीको हुल देखेर डराएका उनका नानीहरूले अहिले ‘बाबा घर जाऊँ’ भन्दा उनको मनमा चिसो पस्ने गर्छ। एक/दुई दिन केही नभने पनि आफ्नो घर डोजरले भत्काएको उनले बताइसके। तर पनि नानीहरू रात पर्यो कि घर जाऊँ भनिरहने उनले सुनाए।

२२ वर्ष त्यहाँ बस्दा उनको दिमागमा कुनै न कुनै दिन यो घर भत्किन्छ भनेर नसोचेको कुनै दिन नै थिएन रे। चार वर्षअघि पनि बस्तीमा डोजर आएको थियो। त्यसबेला विकल्प दिएर मात्र हटाउनुपर्ने माग गर्दै उनीसहित बस्तीका सबैले प्रतिवाद गरेपछि सरकार पछि हट्न बाध्य भएको थियो।

‘तर, यसपालि हामीले नसोचेको प्रहरी आएर घेर्नुभयो। मलाई त डर लाग्यो। मेरा नानीहरू डराउँछन्। मलाई केही भयो भने नानीहरूको अर्को बिजोग हुन्छ भन्ने लाग्यो,’ काखमा नौ महिने सन्तान समात्दै उनले भने, ‘जेनजी आन्दोलन पनि देखेको हो। नयाँ सरकार यस्तो हुन्छ भनेर सोचेका पनि थिएनौँ। रवि सर र बालेन सरले हामीलाई धेरै ढाँट्नुभयो।’

चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सुकुम्बासीसम्बन्धी दिएका आश्वासन उनलाई एकएक याद रहेछ। ती आश्वासन सबै उनको टहरा भत्किएसँगै भत्किएको समेत उनले बताए।

‘पहिला दलित भनेर अपमान गर्थे, अहिले सुकुम्बासी भनेर पनि अपमान गर्न थाले’
मदनलाई उनका बुबाले ताप्लेजुङको योङहाङ गाउँपालिकाबाट सानैमा काठमाडौं ल्याएका रहेछन्। त्यसबेलादेखि उनी काठमाडौंमा संघर्षरत जीवन बिताइरहेका छन्।

उनी घरमा रङ लगाउने काम गर्छन्। दलित भएकै कारणले उनले यहाँ अनगिन्ती भेदभाव भोगेका छन्। अपमानको सामना त सानैदेखि गरेका कारणले उनले त्यसको लेखाजोखा राख्न छोडिसके।

तर, अहिले सामाजिक सञ्जालमा सुकुम्बासीप्रति फैलिएको घृणा र अपमान यति घातक हुन्छ भनेर उनले सोचेका थिएनन् रे।

उनी भन्छन्, ‘ओहो! सुकुम्बासीले त हाम्रो भन्दा राम्रो घर बनाएको रहेछ भनेर गिज्याउनुभएको देख्दा नराम्रो लाग्छ। त्यहाँ कति दुर्गन्धमा बसिरहेका थियौँ, वर्षामा बाढीमै बसिरहेका थियौँ भन्ने त हामीलाई पो थाहा छ त! तर, गरिब हुनु त पाप नै रहेछ।’

सामान केही दिन आफ्ना आफन्तकोमा राख्नका लागि कुरा गरे पनि 'सुकुम्बासी' भनेर राख्न नदिएको नमिठो अनुभव उनले सँगालेका छन्। ट्वइलेट सफा गर्नेदेखि लिएर बच्चा हेर्नेसम्मको कामका लागि बस्तीका व्यक्तिकै माग भए पनि हेप्नुपर्यो भने सबै जना मिलेर हेप्ने गरेको उनी बताउँछन्।

‘घरमा मेरो बालाई पनि कम उमेरको मान्छेले तँ भनेर हेपेर बोलाउँथे। अहिले अब मलाई, मेरा नानीहरूलाई दलित हुनुसँगै सुकुम्बासी हुनुको बोझ पनि थपियो,’ उनी बोल्दाबोल्दै टोलाउन थाले अनि फेरि भन्न थाले, ‘सबले हामीलाई नक्कली भन्छन्। छाना चुहियो भनेर खाइनखाई जस्ता हाल्यो भने हामी हुकुम्बासी भइहाल्छौँ? पानीले नभिजोस्, हाम्रा नानीहरूले पनि राम्रो पढून् भन्ने मन हुँदैन?’

१५ दिनपछि सरकारले विकल्प दिने भनेका कारणले अपमान सहेर बस्नुबाहेक अर्को उपाय नभएको उनले बताए। तर, विकल्पबिना छोडियो भने कोठा लिएर बस्न सक्ने हैसियत नभएको उनी बताउँछन्। सरकारले बिचल्ली पार्यो भने एक जना व्यक्ति मात्र नभएर पूरै परिवारको बिचल्ली हुने उनले बताए।

‘कोठा भाडामा राखेर चाहिँ म केटाकेटी पढाउन सक्दिनँ। सानो कोठा लिए पनि सात/आठ हजार खर्च जान्छ। त्यो पैसाले हामीलाई खानलाई ठिक्क पुगेको छ,’ उनले भन्दै गए, ‘अब यस्तो अवस्थामा हामीलाई विकल्प दिएन भने त गोली नै खाए पनि, लट्ठी नै खाए पनि हामी फेरि त्यही ठाउँमा नै फर्किन बाध्य हुनेछौँ। अहिले डरसँगै आशले पनि हामी चुप लागेका हौँ।’

‘दुधे बालकलाई लिटो बनाएर खुवाउन पाएनौँ’
केही दिनअघि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल होल्डिङ सेन्टरमा पुगेकी थिइन्। मदनलगायत विस्थापितहरूले सान्त्वनाको अपेक्षा गरे पनि डंगोल नानीबाबुहरूसँग केही बेर खेलेर, फोटो खिचेर गएकोमा मन खिन्न भएको उनीहरूले गुनासो सुनाए।

‘उहाँहरूकै मिडिया आउनुभएको रहेछ। यसो नानीहरू खेलाउनुभयो, फोटोहरू मजाले खिच्नुभयो। अनि जानुभयो। मैले त्यही बेला हाम्रो सानो नानी छ, उसलाई लिटो खानुपर्ने हुन्छ, यहाँ केही छैन भनेँ,’ उनी भन्छन्, ‘त्यसपछि राति दुई प्याकेट लिटो बनाउने पिठो पठाइदिनुभएछ।’

तर, सेन्टरमा आफ्नो ग्यास चुल्हो बाल्न नपाएका कारणले तातोपानी तताएर लिटो बनाउन नपाएको उनले उकेरासँग गुनासो पोखे। धार्मिक क्षेत्र भएका कारणले दूध खुवाउनुपर्ने सुत्केरी श्रीमतीको खानपिन पनि साधारण जस्तै भएको उनले बताए।

उनी भन्छन्, ‘यो धार्मिक स्थल हो रे, त्यही भएर यहाँ माछामासु खानु हुन्न रे। मलाई भन्दा पनि नानीको आमालाई खान मन लाग्छ होला। राम्रोसँग दूध आएको छैन। लिटो बनाएर खुवाउन पाएको छैन। नौ महिनाको नानीलाई आमाको दूधले मात्र पुग्दैन नि!’

उनकी श्रीमती सिलाइको काम सिक्दै आएकी थिइन्। दोस्रो सन्तान भएदेखि उनले आम्दानी हुने काम गर्न पाएकी छैनन्। एक हप्तादेखि होल्डिङ सेन्टरमै बस्नुपर्दा मदनको समेत आम्दानी रोकिएको छ।

वैशाख २१, २०८३ सोमबार १०:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।