१२ लाखको टिकट किन्दा ४८ करोडको व्यापार!, आफैँ ‘हल होल्ड’ गरेर यसरी हिट हुन्छन् नेपाली फिल्म

१२ लाखको टिकट किन्दा ४८ करोडको व्यापार!, आफैँ ‘हल होल्ड’ गरेर यसरी हिट हुन्छन् नेपाली फिल्म
एआईको सहयोगमा बनाइएको तस्बिर

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा ‘स्टार’ कलाकार र महँगो बजेट भए मात्र फिल्म चल्छ भन्ने स्थापित मान्यतालाई भर्खरै प्रदर्शनमा आएका केही ‘नन-स्टार’ फिल्मले तोडिदिए।

‘पूर्णबहादुरको सारङ्गी’, ‘परान’ र अहिले प्रदर्शनरत ‘गौँथली’ जस्ता सामान्य कथामा बनेका फिल्मले अप्रत्याशित रूपमा दर्शक तान्दै बक्स अफिसमा ऐतिहासिक रेकर्ड कायम गरे।

चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार यी फिल्मले करोडौंको व्यापार गरे। स्टार भनिएका दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, पल शाह जस्ता कलाकारका फिल्मलाई समेत उछिनेर यिनले दोब्बरभन्दा बढी व्यापार गरेको देखियो।

तर, यी फिल्मले बक्स अफिसमा जादु गर्नुको पछाडि कन्टेन्टसँगै एउटा नयाँ ‘मार्केटिङ स्ट्राटेजी’ पनि खुल्यो- निर्माता आफैँले लाखौँ रुपैयाँको टिकट काटेर दर्शक हलमा पठाउने र ‘शो होल्ड’ गर्ने रणनीति।

पूर्णबहादुरको सारङ्गी : १२ लाखको टिकट किन्दा ४८ करोडको व्यापार !
कुनै स्टारकास्ट र फ्यान फलोइङबिना निर्माण भएको सानो बजेटको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस डाटाअनुसार ४८ करोडभन्दा माथिको व्यापार गरेको छ।

दयाहाङ राईका अधिकांश फिल्ममा सहायक पात्रको भूमिकामा देखिने विजय बराल यो फिल्मबाट मुख्य अभिनेताका रूपमा उदाए। उनीसँगै मुकुन भुसाल र अञ्जना बराइलीको अभिनयले दर्शकलाई मोहित पार्यो।

यस फिल्मका निर्माता विनोद पौडेलले सुरुवाती दिनमा ‘शो होल्ड’ गर्न आफैँले १० देखि १२ लाख रुपैयाँको टिकट खरिद गरेको सामाजिक सञ्जालमार्फत नै स्वीकार गरे। उनले यसलाई सिनेमा चलाउने ‘मार्केटिङ प्लान’ भएको बताए।

फिल्मको सफलतालाई कन्टेन्ट र भाग्यको संगम मान्दै पौडेल भन्छन्, ‘हामीले एउटा सिनेमामा गर्ने मेहनत अर्कोमा एकदमै बढी हुन्छ। पूर्णबहादुर सरसर्ती खिचेर ल्याइयो, त्यसमा हामी त्यति सिरियस थिएनौँ। टेबलमा जे थियो, त्यही खिचेर ल्याइयो, दायाँबायाँ केही गरेनौँ। हलमा लगाइयो, चल्यो। यो सिनेमाको भाग्य पनि थियो। यसको नाम जुर्नु र सबै कलाकार जोडिनु नै सफलताको कारण बन्यो, जुन हामीले सोचेभन्दा धेरै माथि थियो।’

फिल्म चलाउने कुनै जादुयी फर्मुला नहुने बताउँदै उनले थपे, ‘एउटा राम्रो सिनेमा बनाउँछु भनेर चलेका कलाकार राख्दा कहिलेकाहीँ उँट बन्दो रहेछ। मेरो अर्को फिल्म 'अभिमन्यु'बाट एकदमै अपेक्षा थियो, तर त्यसले ५० लाख मात्र कमायो। फिल्म चलाउन शो होल्ड गर्नुपर्छ, जसका लागि आफैँले टिकट काट्नुपर्छ। मैले पनि १२ लाखको टिकट काटेको हुँ। यसको मतलब फेक रिभ्यु गराउने होइन, आफ्ना आफन्त र चिनेजानेकालाई टिकट काटेर हेर्न पठाउने हो।’

टिकट काटेर फिल्म चलाउने यो ट्रेन्डलाई कलाकार तथा निर्माता जितु नेपालको भनाइले पनि पुष्टि गर्छ। हालै एक अन्तर्वार्तामा जितुले आफ्नो फिल्म ‘आई एम जितबहादुर’का वितरकले पनि फिल्मको टिकट काट्नका लागि पैसा जोहो गर्न आग्रह गरेको खुलासा गरेका थिए।

परान : हलबाट उत्रिन लागेको फिल्मले कमायो १७ करोड
गत वर्ष प्रदर्शनमा आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’का निर्देशक दीपक आचार्य (काकु) को निर्देशनमा बनेको ‘परान’ले पनि धेरैलाई छक्क पार्यो। नीर शाह, महेश त्रिपाठी, अञ्जना बराइली र केकी अधिकारी जस्ता कलाकार रहेको यो फिल्म रिलिजको तीन दिनसम्म हलमा सुकेर शो नै आधा घटेको थियो।

तर, निर्माताले टिकट काटेर दर्शक पठाएपछि सोमबारबाट फिल्मले ह्वात्तै मार्केट उठायो। अन्ततः ५१ दिन हुँदै केही हलमा सय दिन मनाएको यस फिल्मले १७ करोड ८४ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो। यसै फिल्मबाट पाका अभिनेता नीर शाह 'हिरो'का रूपमा स्थापित भए।

सुरुका दिनमा खाली रहेको हलमा अचानक दर्शक कसरी आए? निर्देशक आचार्य भन्छन्, ‘परान चलाउनलाई हामी र प्रोड्युसरलाई आइडिया भएन। चलिहाल्छ भनेर दुई दिन ढुक्क भयौँ। तेस्रो दिन हलले शो हटाउन थालेपछि अलिअलि टिकट काट्नुपर्छ भन्ने सल्लाह भयो। रातो (खाली) हल राख्नुभन्दा टिकट काटेर दर्शक नै पठाऔँ भन्ने भयो। ती दर्शकले एक जना बराबर ५ जना दर्शक तानिदिए। परान चल्नुको सूत्र यति नै हो।’

आफूहरूले १४ लाख ७५ हजार रुपैयाँको टिकट काटेको स्वीकार गर्दै उनले थपे, ‘आइतबार हामीले टिकट काट्ने बित्तिकै सोमबार अलिकति बढ्यो, मंगलबारबाट रफ्तारमा कुद्यो। हाम्रो फिल्मको हकमा यो आइडियाले एकदमै राम्रो काम गर्यो।’

उनले काठमाडौं बाहिर गरिएको ‘हल भिजिट’ले पनि हाउसफुल दर्शक तान्न मद्दत गरेको बताए।

गौँथली : बुवाको विरासत, बेमौसमी रिलिज र २२ करोडको व्यापार
साउन १ गतेको अफ सिजनमा रिलिज भएको ‘गौँथली’ले पनि हलमा नसोचेको व्यापार गरिरहेको छ। दश वर्षदेखि फाट्टफुट्ट फिल्म खेले पनि खासै चर्चा नकमाएका अरुण क्षेत्री यो फिल्मबाट हिट भए।

डा. कपिल रिजाल निर्देशित यस फिल्ममा अरुणका अलावा सिम्रन खड्का, लुभिना तुलाधर र प्रकाश घिमिरे छन्। बोर्डको तथ्यांकअनुसार एक महिनामै यसले २२ करोडभन्दा माथिको व्यापार गरिसकेको छ।

यो फिल्मको नाम पछाडि एउटा ऐतिहासिक विरासत जोडिएको छ। दुई दशकअघि डा. भोला रिजालले ‘गौँथली’ नाममै फिल्म बनाएका थिए, जुन मुलुकको पहिलो गीति फिल्म थियो। त्यतिबेला सो फिल्मले ५१ दिन मनाएको थियो।

चलचित्र विकास बोर्डको नियमअनुसार एउटा नाममा फिल्म बनेको १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन मिल्छ। सोही नियमलाई पछ्याउँदै छोरा कपिल रिजालले बुवाको सुपरहिट फिल्मको शीर्षक सापट लिएर नयाँ कथामा यो फिल्म निर्देशन गरेका हुन्।

यसका वितरक करण श्रेष्ठ (क्रेजी) फिल्म चल्नुको मुख्य कारण बलियो कन्टेन्ट नै भएको दाबी गर्छन्।

उनी भन्छन्, ‘कन्टेन्ट बलियो भएन भने जतिसुकै पब्लिसिटी गरे पनि वा टिकट काटेर दर्शक पठाए पनि फिल्म चल्दैन। पहिला निर्देशकले सहज रूपमा दर्शकलाई कथा बुझाउनुपर्छ। पब्लिसिटी बलियो बनाउँदै केही टिकट काटेर दर्शक लगियो भने त्यसले थप प्रसारको काम गर्छ, फिल्म चलाउने अरू कुनै जादु छैन।’

विज्ञापनदाता र साथीभाइलाई टिकट दिँदा करिब ४ लाख रुपैयाँ खर्च भएको उनले बताए।

समीक्षक भन्छन् : प्रतिस्पर्धाको अभाव र ‘आँसुको व्यापार’
समीक्षक प्रकाश सायमी भने यी फिल्महरूको सफलतालाई फरक दृष्टिकोणले हेर्छन्। फिल्म चल्नुका पछाडि उनी तीन कारण औँल्याउँछन्: पहिलो- प्रतिस्पर्धामा त्योभन्दा गतिलो फिल्म नआउनु, दोस्रो- मास हिस्टेरिया अनि तेस्रो- प्रोपागाण्डा।

उनले निर्माताले रुने मान्छे खोजेर हलमा ल्याउने गरेको बताए।

‘पूर्णबहादुरको सारङ्गीले हलभरि रुने मान्छे ल्याएर रुवायो। परान निर्माण हुँदा पनि काम गरिरहेकाहरूले रुने मान्छे खोजेर ल्याउनुपर्छ भन्ने सल्लाह गरेको मैले सुनेको थिएँ’, सायमीले भने।

सायमीले पुरानो ‘गौँथली’को सफलतामाथि पनि प्रश्न उठाए।

उनले भने, ‘भोला रिजालले निर्माण गरेको पुरानो गीति फिल्म गौँथली पनि फ्लप भएको थियो। त्यसले हलमा पानीसमेत भन्न पाएको थिएन। ५१ दिन मनायो भन्ने कुरा उही हलमा पैसा तिरेर राखेको भरमा मात्रै थियो।’

नेपाली बजारको यथार्थ चित्रण गर्दै सायमी निष्कर्ष निकाल्छन्, ‘नेपाली समाज भनेको आँसुको व्यापार गर्ने समाज हो। हामी कमेडी फिल्म चल्छ भन्छौँ तर व्यापार आँसुमै बढी हुन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुहुन्थ्यो- मैले लेखेको किताब चलेन, कि मैले पाठकलाई उचाल्नुपर्यो, कि म नै तल खस्किनुपर्यो। त्यस्तै, नेपाली फिल्मकर्मीहरू कहिलेकाहीँ दर्शकसँगै तल झर्नुपर्ने हुन्छ। अहिले हलमा चलेका फिल्ममा त्यही देखिएको छ।’

भदौ ६, २०८३ शनिबार ०८:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।