चितवनमा ७ हजार कुखुराको ‘पोष्टमार्टम’ गर्दा १० प्रकारका रोग भेटियो

चितवनमा ७ हजार कुखुराको ‘पोष्टमार्टम’ गर्दा १० प्रकारका रोग भेटियो

चितवन : राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनले एक वर्षको अवधिमा ७ हजार कुखुराको ‘पोष्टमार्टम’ गरेको छ।

चितवनसहित १६ जिल्लाका किसानले ल्याएका कुखुराको परीक्षण गर्दा १० प्रकारका विभिन्न रोग पहिचान भएको हो।

प्रयोगशाला प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम र थप १ हजार ५०० नमुना परीक्षणबाट कुखुरामा इकोलाई, गम्बारो, सिआरडी, ढुसीजन्य रोग, सिसिआरडी र साल्मोनेलोसिस देखिएको छ।

जसमध्ये सबैभन्दा धेरै २२ प्रतिशत कुखुरामा इकोलाईको सङ्क्रमण देखिएको छ भने १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा​​​​​​सिआरडी र ढुसीजन्य रोग देखिएको छ।

यसका अलावा ४ प्रतिशतमा सिसिआरडी र ३.५ प्रतिशतमा साल्मोनेलोसिस देखिएको कार्यालयले जनाएको ५।

यसबाहेक परीक्षणका क्रममा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा), कुखुराको हैजा, रानीखेत, आइबी र सिआइएभी जस्ता गम्भीर प्रकृतिका सङ्क्रमण पनि पुष्टि भएका छन्।

उपचार सिफारिस : प्रयोगशालाले ९०० वटा नमुना ‘कल्चर’ गर्दा ७८९ वटामा सङ्क्रमण भेटिएको थियो।

कुखुरामा कुन रोग लागेको हो भन्ने यकिन गरिसकेपछि किसानलाई सोहीअनुसारको ‘एन्टीबायोटिक’ औषधि प्रयोग गर्न सल्लाह दिइएको छ।

प्रयोगशाला प्रमुख डा. श्रेष्ठका अनुसार खोरको सरसफाइ, निर्मलीकरण र बाहिरी मानिस वा पशुपन्छीको प्रवेशमा रोक लगाउने जस्ता उपाय अपनाउन नसक्दा कुखुरामा रोगको जोखिम बढेको हो।

कुखुरालाई मर्नबाट बचाउन किसानले खोरको जैविक सुरक्षामा कडा ध्यान दिनुपर्ने उनको सुझाव छ।

भदौ ४, २०८३ बिहीबार ०९:०६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।