रेडक्रस जग्गा घोटालामा प्रतिवेदन आएको दुई वर्षपछि अनुसन्धान सुरु, तर समातिए लगत्तै  पाँचै जना हाजिर जमानीमा छुटे

रेडक्रस जग्गा घोटालामा प्रतिवेदन आएको दुई वर्षपछि अनुसन्धान सुरु, तर समातिए लगत्तै  पाँचै जना हाजिर जमानीमा छुटे

काठमाडौं : रेडक्रस सोसाइटीको नाममा भक्तपुरमा जग्गा किन्दा अनियमितता गरेको आरोपमा सोसाइटीका पूर्व पदाधिकारी पक्राउ परेका छन्। जग्गा खरिदमा करिब २ करोड घोटाला भएको दाबीसहित केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार पाँच जनालाई पक्राउ गरेको हो। २०८१ मा भएको छानबिनको प्रतिवेदनका आधामा सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो।

ब्युरोले रेडक्रसका पूर्वअध्यक्ष सञ्जीव थापा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायणका मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसीलाई पक्राउ गरेको हो। उनीहरूलाई ठगीसम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लगिएकोमा अदालतले म्याद थप नगरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

रेडक्रसका लागि गोदाम घर बनाउने भन्दै १० वर्षअघि ५ रोपनी १३ आना ३ पैसा जग्गा ६ करोड ३२ लाख ८१ हजारमा किनिएको थियो। तर जग्गा नाप्दा करिब ६ आना जग्गा नै पुगेको थिएन। फिल्डमा ५ रोपनी ७ आना २ पैसा १ दाम मात्र जग्गा फेला परेको थियो।

समाज कल्याणको छानबिनमा खुलेको थियो बदमासी

रेडक्रस सोसाइटीको विषयमा समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिले सोसाइटीभित्र गम्भीर अनियमितताका पहिल्याएर प्रतिवेदन बुझाएको थियो। २०८१ सालमा  परिषद् बोर्ड सदस्य सञ्जय साहको नेतृत्वले छानबिन भएर प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनमा जग्गा खरिददेखि सामान्य सामान खरिदसम्म अनियमितताको प्रमाणहरू उल्लेख थिए। उकेराले  रेडक्रस सोसाइटीमा भएका बदमासीबारे २०८१ असारमा विस्तृत समाचार प्रकाशित गरेको थियो।

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भक्तपुरमा जग्गा खरिदमा २ करोड बढी अनियमितता भएको उल्लेख छ। केन्द्रीय रक्तसञ्चार भवन ठेक्कामा बदमासी भएको उल्लेख गरेको प्रतिवेदनमा कर्मचारीदेखि रेडक्रसका पदाधिकारीसम्म अनियमितता र आर्थिक अनुशासनहीन रहेको भन्दै उनीहरूमाथि कारबाहीको सिफारिस समेत गरेको छ। 

जग्गा खरिददेखि टेन्डरसम्म : जताततै वित्तीय अराजकता

प्रतिवेदनमा उल्लेख भएको अनियमिततामध्ये सबैभन्दा गम्भीर भक्तपुर नगरपालिका ४ मा किनिएको पाँच रोपनी १३ आना ३ दाम जग्गाको अनियमितता उल्लेख छ। संस्थाले सो जग्गा रोपनीको एक करोड ८० लाखको दरले ६ करोड ८० लाखमा किनेको थियो। तर पछि जग्गा नाप्दा पाँच रोपनी सात आना मात्र रहेको खुल्यो। जम्मा १५ दिनको टेन्डर गरिएकोमा प्रस्ट जग्गाले बाटो छोएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। तर जग्गा किन्दा बाटोले नछोएको किनियो।   

किनेको भन्दा ६ आना जग्गा कम भए पनि सो बापतको रकम संस्थामा फिर्ता आएको छैन। यसबाट ४२ लाख हानी भयो। बाटो जोडिएको जग्गा भनेर बाटो नै नभएको जग्गा किनेर पछि बाटोका लागि १४ आना जग्गा किन्न रेडक्रसको ९९ लाख खर्च गरियो।  

गोदाम घरका लागि भनेर किनिएको जग्गामा गोदाम राख्न उपर्युक्त नरहेको र संस्थालाई थप ६७ लाख भार थपेको भन्दै प्रतिवेदनमा दुई करोड नौ लाख अनियमितता भएको भन्दै यसमा संलग्न उच्चपदस्थ कर्मचारी र पदाधिकारीमाथि भ्रष्टाचारमा कारबाही गर्न प्रतिवेदनमा सिफारिस छ।

भदौ ३, २०८३ बुधबार २१:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।