कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।
मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५१ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावको पक्षमा २१ मत खसेको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभाका ३६ जना सांसद मतदानमा सहभागी भएका थिए भने विपक्षमा २ मत परेको थियो।
सभामुख नन्दा गुरुङले मुख्यमन्त्री शाहीले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन् ।
नेकपा र एमालेबीचको सत्ता समीकरणका कारण मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुग्ने अवस्था यसअघि नै देखिएको थियो। ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ भने सत्ता साझेदार दलसँग २४ सांसदको समर्थन रहेको थियो।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेश सरकार सञ्चालनका लागि थप राजनीतिक आधार प्राप्त भएको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रालय भागबण्डामा सहमति जुट्न ढिलाइ हुँदा मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
भदौ ३, २०८३ बुधबार १८:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।