टीयूको एमबिएसको एउटा हैन, दुइवटा प्रश्नपत्र लिक, ठाकुररामको विद्यार्थीले फोटो खिचे, शिक्षक ‘सुलभ सर’ ले फैलाए

टीयूको एमबिएसको एउटा हैन, दुइवटा प्रश्नपत्र लिक, ठाकुररामको विद्यार्थीले फोटो खिचे, शिक्षक ‘सुलभ सर’ ले फैलाए

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (टीयू) को एमबीएस  प्रथम सेमेस्टरको परीक्षामा एक नभई दुई विषयको प्रश्नपत्र लिक भएको खुलेको छ। यस अगाडि अर्गजाइनेशनल विहेवियरको प्रश्न पत्र मात्रै बाहिरिएको सार्वजनिक भएकोमा यही समूहले स्ट्याटिस्टिकल मेथडको प्रश्न पत्र समेत लिक गराएको खुलेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा काठमाडौंमा रहेका शिक्षक अनि ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षाकेन्द्रमा रहेका एमबिएसकै विध्यार्थीहरु मिलेर परीक्षा सुरु भएको एक मिनेटमै प्रश्नपत्र लिक गराएको खुलेको छ।

विभिन्न ह्वाट्सएप ग्रुपहरूमा प्रश्नपत्र लिक गराएपछि बाहिर रहेका व्यक्तिले त्यसको उत्तर लेखेर पुन सोही ह्वाट्सएप ग्रुपमा राखेको र परिक्षार्थीहरुले मोबाइलमा आएको उत्तर सारेर परीक्षा दिएको सिआइबीको अनुसन्धानमा खुलेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख भए अनुसार काठमाडौँका निजी कलेजमा अध्यापन गराउने शिक्षक सन्दीप सिंह (सुलभ सर) को मुख्य योजनाकार देखिएका छन्।

१२:०० बजे परीक्षा, १२:०१ बजे ह्वाट्सएपमा प्रश्नपत्र

अनुसन्धानमा खुले अनुसार प्रश्नपत्र लिक गराउन ह्वाट्सएपमा विभिन्न ग्रुपहरू बनाइएको थियो। उक्त ग्रुपमा शिक्षक, परीक्षार्थी र बाहिरबाट उत्तर हल गरिदिने तीनै तहका व्यक्तिहरू जोडिएका थिए।

पर्साको वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट परीक्षार्थी अब्दुल सानी हाकिमले दिउँसो १२ बजे परीक्षा सुरु हुनासाथ मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर १२:१ बजे नै ह्वाट्सएप ग्रुपमा पोस्ट गरेका थिए।

परीक्षा हलभित्र मोबाइल लैजान पूर्ण प्रतिबन्ध भए पनि उनले सहजै मोबाइल पुर्याएर १ मिनेटमै प्रश्नपत्र चुहावट गरिएको अनुसन्धानबाट पुष्टि भएको छ। त्यसपछि सुलभ सर भनिने सन्दीप सिंहले सो प्रश्नपत्र अर्को समूहमा राखेर उत्तर लेख्न लगाएका थिए।

ह्वाट्सएपमा लिक भएको प्रश्नपत्र अनुसार अतुलकुमार मिश्रले बाहिरबाट उत्तरहरू लेखेर पुन ह्वाट्सएप समूहमा राखेका थिए। यसमा अन्य तीन जनालाई पनि प्रतिवादी बनाइएको छ जसले ह्वाट्सएपमा आएको उत्तर सारेर परीक्षा दिएका थिए।

अनुसन्धानमा यो समूहले प्रश्नपत्र लिक गराएर कुनै आर्थिक कारोबार गरेको अनुसन्धानमा उल्लेख छैन। अनुसन्धानका विवरणहरूले परीक्षा केन्द्रमा सहजै मोबाइल लगेर सामाजिक सञ्जाल खोलेर त्यसमा आएका उत्तरहरू सार्दा समेत परीक्षा हलमा रहेका परीक्षकहरूले कुनै अवरोध नगरेको देखियो।

काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा ६ जनालाई अभियुक्त बनाएर शिक्षा ऐन अनुसार प्रश्नपत्रको गोपनीयता भंग गरेको र परीक्षाको मर्यादा उल्लङ्घन गरेको कसुरमा १ लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनुपर्ने मागदाबी गरिएको छ।  यस अभियोगमा पक्राउ परेकाहरू धरौटीमा रिहा भइसकेका छन्।

भदौ ३, २०८३ बुधबार १६:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।