रास्वपाद्वारा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ।
आज बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो।
उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ।
यस्तै, बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका कामबारे जानकारी गराएका थिए।
बैठकमा सरकारका कामकारबाही जनतासमक्ष पुर्याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो।
भदौ ३, २०८३ बुधबार १५:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।